मलेसियामा टुट्यो सुमन चौधरीको सपना
रामचन्द्र नेपाल/सरोज एसी, (अनलाइनखबर)- बाबुले अर्काको जग्गामा अधियाँ गरेर आफूहरुलाई पालेको देख्दा सुमन चौधरीको मन निकै दुख्थ्यो । हिउँदको जाडो र बर्षाको झरी नछल्ने फुसले छाएको घरमा बाबुआमाको जुग बितेको उनले बुझेका थिए । आठ कठ्ठा जग्गामा फल्ने अन्नले परिवार पाल्न हम्मेहम्मे भएको बेला उनले सानैबाट केही गर्ने सपना नसाँचेका होइनन् । सधैंको गरिबी र अभावबाट मुक्ति पाउने उपायको खोजीमा थिए, दाङको नारायणपुर-८ बुडौराका सुमन । सानैबाट दुःखबाट मुक्त हुने उपायमा घोत्लिन्थे उनी । उनी सोच्थे, ‘मैले राम्ररी पढेर जागिरे बनी बाबुआमालार्इ सुख दिने दिन कहिले आउला ?
घरको जेठो छोरो भएकाले पनि उनीमाथि परिवार पाल्ने गहन जिम्मेवारी थियो । बाबुआमालार्इ सुख दिएर आफू पनि जाडो झरी नछल्ने फुसको घरबाट पक्की घरमा बस्ने सपना देखेरै उनी गाउँकै सिद्धरत्ननाथ उच्च माविमा १० कक्षामा पढिरहेका थिए । धेरै पढेर ठूलो मान्छे बन्ने सपना गरिबको छोराले देख्न सक्छ तर पूरा गर्न सक्दैन ।
यस्तै विडम्बनाको सिकार भए सुमन। विद्यालयभन्दा माथिको शिक्षा लिन उनलार्इ पैसाको अभावले पिरोल्यो । धेरै पढ्ने सपनालार्इ तिलाञ्जली दिएर सुमनले भाइ बहिनीलार्इ पढाउनुपर्ने बुबाको जिम्मेवारीमा साथ दिन पुगे ।
पढार्इ छोडेपछि गाउँमा ज्याला मजदुरी गर्दै बसेका सुमनलार्इ पढेका नपढेका सबै साथीहरूमा पैसा कमाउन विदेश जाने लहरले तान्न पुग्याे । धन कमाएर धनी हुने सपना देखेका सुमनलार्इ विदेश जाने रहर नभए पनि गाउँमा गतिलो रोजगारी नपाएपछि उनी निराश थिए । घरको आर्थिक अवस्था देखेर विरक्तिएका सुमान त्यही कारणा विदेश आउन बाध्य भए । बाबुले जोडेको भएभरको सम्पत्ति साहुकहाँ वन्धकीमा राखेर गाउँकै तीनजना साथीहरुसँगै सुन्दर सपना बोकेर गत वर्ष मार्च १५ तारिखमा सुमन मलेसिया ओर्लिए ।
दाङबाहिर नगएका सुमनलाई मलेसिया निकै ठूलो लाग्यो । ठुल्ठुला घर, कमिलासरी गाडी, कहिल्यै ननिभ्ने बिजुली देखेर उनी छक्क परे। जोहोरको मसाईमा रहेको योङ पेङ ट्रेनिङभन्ने कम्पनीमा गाउँकै तीन साथीसहित चारजनाले काम थाले । नेपालमा हुँदा नियमित काम नगरेका सुमनलाई त्यो काम निकै ग्राहो लाग्यो । खेर गएका प्लाष्टिकलाई फेरि नयाँ प्लाष्टिक बनाउने काम थियो । उनीजस्तै सोही कम्पनीमा इण्डोनेसियाका दुईजना र म्यानमारका पाँचसहित एघारजना कम्पनीमा कार्यरत थिए ।
गत वर्षको अक्टोवर १८ तारिख उनको जीवनमा सबैभन्दा नराम्रो दिन बन्यो । उनी कम्पनीमै काम गरिरहेको अवस्थामा दिउँसोको एक बजेको हुँदो हो । उनी मेशिन धोइरहेका थिए, उनीसँगै इण्डोनेसियन साथी पनि काम गरिरहेका थिए । त्यो साथीले धोइरहेको मेशिन चलाईदियो, मेशिन चल्नासाथ उनको हातलाई मेशिनले कच्याककुचुक बनायो । चलेको मेशिस तत्काल रोकियो त्यतिबेलासम्म उनको हात मेशिनमा फसिसकेको थियो ।
मेशिनमा फसेको हात निकाल्न सकिएन । पुनः मेशिन चलाउँदा मेशिनले हात तान्न सक्थ्यो । त्यो अवस्थामा करिव २० मिनेट लगाएर ग्रण्डरले मेशिन काटेर हात निकालियो ।
यतिवेला सम्म सुमन वेहोस भैसकेका थिए । तत्कालै उनलाई अस्पताल लगियो । अस्पताल लैजानासाथ अप्रशेन भयो र उनको हात कुहिनाभन्दा केही तलबाट काटियो । उनी छाँगावाट खसेजस्तै भए । काटिएको हातसँगै सबै सपना टुटे । हात काटिँदासम्म मलेसिया आउँदा लागेको ऋण उनले तिर्नमात्र सकेका थिए । अस्पतालमा लागेको करिव ११ हजार रिंगेट भने कम्पनीले तिरिदियो ।
काटिएको हात हेर्दै टोलाएका उनले दुर्घटनामा परेको खबर परिवारलाई सुनाउन सकेनन् । सवैभन्दा पहिला वुवालाई सम्पर्क गरे, तर वुवा भारतको लखनउ गएका थिए । बाबु नेपाल आउनासाथ दुःखद खबर सुनाए । खवर सुनेपछि आमा र पत्नी बिचलित भए । पत्नीको आँसुको धारा रोक्दै टेलिफोनमा भने, ‘मैले त हिम्मत हारेको छैन, तिमीले किन चिन्ता लिनुपर्यो ।’
यतिबे0ला उनलाई साथीहरुले ठूलो सहयोग गरिरहेका छन् । साथीहरुले बारम्बार कम्पनीमा पुगेर इन्स्योरेन्सको रकमबारे पहल गरिरहेपछि कम्पनीले उनलाई १३ हजार ८ सय रिंगेट दिने भएको छ । अक्टोवरदेखि मार्चसम्मको विरामी विदाको रकम १९ सय ८० रिंगेट पनि उनले पाउने भएका छन् । यही रकम बोकेर आउँदो २२ तारिखका दिन उनी काटिएको हात लिएर नेपाल फर्कँदै छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले साथीहरुबाट आफूमाथि लगाएको गुण जीवनभर भुल्न नसक्ने बताए ।
बाबुलाई अधियाँबाट हटाएर आफ्नै जग्गामा खेती गरी परिवार पाल्ने सुमनको सपना तुहिएको छ । नेपाल फर्किसकेपछि गाउँमै किराना पसल चलाउने सोचाई सुमनले बनाएका छन् । भाइ र बहिनीलाई दुःख गरेर पढाउने उनको दृढ अठोट छ ।
अनलाइनखबरबाट साभार
Facebook Comment