महिला भलिबलमा सरस्वती, नेबिका र मनिषा चौधरी छनोट
प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। बन्द प्रशिक्षणका १६ खेलाडीबाट संघले सोमबार अन्तिम टोली छनोट गरेको हो। पुस ४ देखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा च्याम्पियनसिप हुनेछ। प्रतियोगितालाई नेपालले मंसिर ३ बाट बन्द प्रशिक्षण सुरु गरेको थियो। बन्द प्रशिक्षणमा रहेका साइड स्पाइकर चन्द्रा राना र लिबरो सलिना श्रेष्ठ टोलीमा परेनन्।
विनिता बुढाथोकीको कप्तानीमा छनोट टोलीमा ओपन स्पाइकरमा मञ्जु गुरुङ, रमिला तण्डुकार, नेबिका चौधरी र प्रतिभा माली, क्विक स्पाइकरमा सरस्वती चौधरी, उषा विष्ट, कोपिला उप्रेती, मनिषा चौधरी छन्। साइड स्पाइकरमा अरुणा शाही, रेश्मा भण्डारी, सेटरमा कप्तान विनिता र सुशीला थापा छन्। लिबरोमा कमला पुन र ज्योति चौधरी छन्।
पुस ४ गतेबाट सुरु भएर ८ सम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसँगै भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको लागि नेपालले मंसिर ३ गते देखि बन्द प्रशिक्षणसुरु गरेको थियो। महिला टोलिको मुख्य प्रशिक्षक सुदेशकुमार रिमाल, सहायक प्रशिक्षकमा जगदिश भट्ट र कौशिला खत्री रहेका छन्।
Facebook Comment