प्रधानमन्त्री देउवाको भारत भ्रमणको उपलब्धि : द्विपक्षीय सम्बन्ध थप प्रगाढ
प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गरे। सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल-भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए।
प्रधानमन्त्री देउवाको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री डा खड्काले भने, ‘दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदानप्रदान भयो।’
भ्रमणमा उच्च तहमा भ्रमणको आदानप्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको थियो।
नेपालको विकासमा भारतको सदा साथ र सहयोग रहेको र प्रधानमन्त्री मोदीले दुई देशबीच विकास एवं आर्थिक सहकार्यसम्बन्धी नेपालका प्रस्तावहरूलाई भारतले सकारात्मक रूपमा अगाडि बढाउने बताउनुभएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिए।
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीको समुपस्थितिमा जयनगर-जनकपुर रेल सेवाको सञ्चालन, भारतीय सहयोगमा नेपालमा निर्माण सम्पन्न १३२ केभी सोलु करिडोर ट्रान्समिसन लाइन, स्वास्थ्य क्षेत्रमा निर्माणाधीन १३२ हेल्थ पोष्ट निर्माण कार्य र नेपालमा एसबिआइ बैंकबाट जारी ‘रुपे’ कार्ड सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन एवं प्रगति अवलोकन गरिएको थियो।
महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने सम्झौता, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको फ्रेमवर्क सम्झौता, एनओसी र आइओसीबीच पाँच वर्षका लागि इन्धन आपूर्ति गर्ने सम्झौता, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझेदारीको लागि सम्झौतामा हस्ताक्षर भएको उनले बताए।
जलविद्युत् क्षेत्रमा नेपाल-भारतबीच दीर्घकालिन सहकार्यलाई मजबूत गर्ने उद्देश्यका साथ ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल-भारत संयुक्त भिजन वक्तव्यमा सहमति भएको छ। नेपाल र भारतबीच जलविद्युत् उत्पादन, प्रशारण लाइन निर्माण र जलविद्युत् व्यापार बढाउने विषयमा पनि कुराकानी भएको छ।
भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले आर्थिक तथा प्राविधिक क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार तथा मानवस्रोत विकासमा भारतले गरेको सहयोगको सरहाना गरेका थिए। यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताए।
त्यसैगरी वित्तीय क्षेत्रमा एलओसी आईभीअन्तर्गत ५०० मिलियन अमेरिकी डलर उपयोगका लागि सिग्नेचर परियोजना प्रस्ताव गर्न भारतीय पक्षबाट अनुरोध भएको छ। दुई प्रधानमन्त्रीबीच स्वास्थ्य क्षेत्रमा सहयोगका लागि तनहुँमा स्थापित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास रोग केन्द्रलाई जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा खड्काले जानकारी दिए।
सीमाबारे दुई प्रधानमन्त्रीको छलफल
दुई प्रधानमन्त्रीबीच सीमासम्बन्धी विषयमा विचार आदानप्रदान भएको छ। परराष्ट्र मन्त्री डा खड्काले भने, ‘दुई देशबीच स्थापित संयन्त्रमार्फत सीमासम्बन्धी विषय संवाद र कूटनीतिमार्फत समाधान गर्न कुराकानी भएको छ।’
भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री डा एस जयशङ्कर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गरेका थिए। उक्त अवसरमा आपसी हितका विषय तथा सम्बन्धलाई अगाडि बढाउने विभिन्न विषयमा महत्वपूर्ण छलफल भएको थियो।
Facebook Comment