कांग्रेस सांसद शर्माले मागे गृहमन्त्रीको राजीनामा
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। पटक-पटक सुन तस्कर भइरहने कुरा थाहा नपाउने अर्थमन्त्री डा. प्रकाशन शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरे।
उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुईमन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे। उनले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर घटना ढिसमिस गर्न खोजियो भने सदनमै आमरण अनुशन बस्ने चेतावनी दिए।
‘यो विषयलाई सामान्य ढंगले हेरियो र मुख्य अभियुक्तलाई पक्राउ गर्न सकिएन भने त्यो दोष हामीमाथि थुप्रिनेछ,’ उनले भने, ‘भरियालाई मात्रै पक्राउ गरियो भने सदनमा आमरण अनशन बस्छु।’
नेता शर्माले यो घटना सुनियोजित ढंगले आएको दाबी गरे। ‘चैत १७ गते अर्थमन्त्रीले शपथ खानु भयो। वैशाख २० गते अर्थसचिव परिवर्तन भयो। जेठको १७ गते भन्सार कार्यालयको चिफलाई परिवर्तन गरियो। त्यसपछि क्वीन्टलका क्वीन्टल सुन भित्रियो,’ उनले भने।
उनले पटक पटक क्वीन्टलका क्वीन्टल सुन भित्रिदा अर्थमन्त्री र गृहमन्त्री मूकदर्श भएर बस्नु चाजमर्दो विषय भएको बताए। उनले भने, ‘यो देशको अर्थमन्त्री र गृहमन्त्रीले ती चिजहरू थाहा छैन भन्नुहुन्छ भने उहाँहरूले नैतिक अधिकार गुमाइसक्नु भएको छ।’ उनले सुन प्रकरणमा भरियामात्रै पक्राउ गरेको र मुख्य दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
यसअघि पनि विभिन्न प्रकरणमा नाम जोडिएपछि राजीनामा दिने गरेको स्मरण गर्दै अहिले उक्त प्रकरणलाई निष्कर्षमा पुराउन राजीनामा दिएर सहयोग गर्नुपर्ने धारणा राखे।
Facebook Comment