सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन नबनाएसम्म एमालेले संसद सञ्चालन गर्न नदिने
सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आआफ्नो सिटबाट उठेका थिए । प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरे । त्यसपछि आकस्मिक समयमा अरु दलका सांसदहरुले पनि धारणा राखे । आकस्मिक समयको पालो सकिएर सभामुखले शून्य समय सुरु गर्नेवित्तिकै एमाले प्रमुक सचेतक गिरी पुनः उठे ।
उनले सुन तस्करीका विषयमा अरु दलका सांसदहरुले पनि भनाइ राख्न खोजेकाले आफूहरु लचिलो भएको बताए । तर उच्चस्तरीय छानबिन समिति गठनका लागि सभामुखबाट रुलिङ नभएसम्म बैठक चल्न नदिने बताए ।
पछिल्लो एक महिनामा हरेक दिनजसो त्रिभुवन विमानस्थलबाट सुन तस्करी भइरहेको दाबी गर्दै उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा सुन भित्रिएको छ, यो अन्तिम पटक सेटिङ बिग्रिदा पक्राउ परेको हो । उच्च स्तरीय छानबिना समिति बन्नुपर्छ । मन्त्रीदेखि तलसम्म को को संलग्न छन्, त्यसको छानबिन हुनुपर्छ ।’
Facebook Comment