एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पुर्याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ। पदाधिकारीको सङ्ख्या २१ बनाउने निर्णय गरेको छ। एक महिला तथा वरिष्ठसहित सात उपाध्यक्ष र सचिवको सङ्ख्या पनि सात कायम गरिएको छ। यही असार १६ देखि २० सम्म काठमाडौंमा हुने महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम, वैचारिक दृष्टिकोण पारित गर्ने र त्यसका आधारमा नयाँ नेतृत्व चयन गरिने पार्टीले जनाएको छ।
मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गरिएको बैठकमा विभिन्न दस्तावेजमा समीक्षा गरिएको स्थायी समिति सदस्य रायमाझीले बताए।महाधिवेशनको तयारी, मातहतका कमिटीमा कार्यप्रगतिबारे छलफल गरिएको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने समझदारी भएको छ।
पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ। छनौट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था परिवर्तन गरी मनोनित नगर्ने निर्णय बैठकले गरेको छ।
Facebook Comment