नेपाल-भारत सहकार्यलाई थप सुदृढ बनाउने प्रयास

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। आइतबार विहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्री त्यसपछि उच्च स्तरीय भेटवार्तामा व्यस्त भएका थिए।

मिश्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश सुनाइएको थियो। भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यका विविध पक्षमा भइरहेको प्रगतिका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा सरकार बनेपछि भारतबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विश्लेषण गरिएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले पनि मिश्रीको भ्रमणले भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने बताएको छ। दुवै पक्षले ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत तथा जनता-जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने दूतावासको भनाइ छ।

‘दुवै पक्षले हालैको वर्षमा द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र, भौतिक, डिजिटल, ऊर्जा र जनता-जनताबीचको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ। त्यतिमात्र होइन, सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवेका पेट्रोलियम पाइपलाइनसम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयन गर्ने विषयमा वृहत् छलफल भएको छ,’ दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ।

ऊर्जा क्षेत्रमा दुई देशबीच भएको सहकार्यका विषयमा पनि दुवै पक्षले प्रशंसा गरेका थिए। पछिल्लो २-३ वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना भएको दूतावासले जनाएको छ। सन् २०२६ मा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्र सहकार्यले खेलेको भूमिका खेल्ने भारतीय पक्षको भनाइ छ।

विदेश सचिव मिश्रीले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। सोमबार भने मिश्रीले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका थिए। भेटमा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत-नेपाल सहकार्यलाई थप सुदृढ गर्ने तरिकाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालसँगै विदेश सचिवले कवि केशरी चित्तधर ‘हृदय’सँग सम्बद्ध ऐतिहासिक आवासीय भवन ‘नेपाल भाषा परिषद्’को संयुक्त उद्‍घाटन गरेका थिए। २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा अघि बढाइएका २८ वटा सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनामध्ये यो एक भएको दूतावासले जनाएको छ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आएका हुन्। विदेश सचिवको जिम्मेवारी सम्हालेपछि मिश्री पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। परराष्ट्र सचिव लम्सालले भारतीय प्रतिनिधिमण्डलका लागि दिवाभोजको आयोजना गरेकी थिइन्।

मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। ​​​​​​विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेश सचिवमा नियुक्त भएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *