भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास परराष्ट्र मन्त्री राणाको छ। ‘भारतीय विदेशमन्त्री एस जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,’ भेटपछि मन्त्री राणाले भनेकी छन्।

भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा पाँच दिने भ्रमणमा आइतबार नयाँ दिल्ली गएका हुन्। उनको यो पहिलो विदेश भ्रमण पनि हो। उनी भदौ ६ गते स्वदेश फर्किनेछिन्।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुई दिने भ्रमणका गरेका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि भारतको तर्फबाट मिश्रीको भ्रमण भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *