राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरुलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन् ।
प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा नेताहरुले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले अहिले कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो योजना नरहेको जवाफ दिएका थिए ।
Facebook Comment