गढीमाइ मेला मंसिर १७ देखि, २ करोड बढी दर्शनार्थी आउने
पाँच वर्षमा लाग्ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ । गढीमाई मेलाका लागि महागढी नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु आउने व्यवस्थापन समितिले जनाएको छ ।
भक्तजनको सुरक्षाका लागि समेत उचित व्यवस्था गरिएको र हरेक चोकमा प्रहरीले सुरक्षा दिने मेला समिति संयोजक उपेन्द्रप्रसाद यादवले जानकारी गराए । मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको यादवले बताए । उक्त क्षेत्रफलमा सातै प्रदेशका कृषिजन्य वस्तु पनि राखिने व्यवस्थापन समितिले जानकारी गराएको छ ।
गढीमाईमा विशेष पुजाका रुपमा मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिमा झाँक्रीले विधिपूर्वक विशेष तान्त्रिक पुजा गरी पञ्चवली दिने परम्परा छ । गढीमाईको विशेष पुजा मंसिर २३ देखि २५ गतेसम्म हुनेछ ।
गढीमाई मन्दिरको मूल पुजारी चौधरी समुदायबाट राख्ने गरिएको छ। गढीमाई मन्दिरको स्थापना कालदेखि नै चौधरी समुदायबाट पुजारी राख्ने प्रचलन रहेको मेलाका व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए। मूल पुजारी चौधरी समुदायबाट स्थापनाकालदेखि रहँदै आएको यादवले जानकारी गराए ।
गढीमाई मन्दिरमा मूख्य गरी राँगाको बलि दिने प्रचलन छ । मन्दिरमा सेतो मुसा,एकजोर परेवा, बोका, लोकल कुखुरा र सुंगुर गरी पाँच पशु एवं पंक्षीको पञ्चबली चढाउने प्रचलन छ । गढीमाई मन्दिरका मूल पुजारी मंगल चौधरी छन् ।
मूल पुजारी थारूकै पुर्खालाई देवीले सपनामा दिएको निर्देशन अनुसार मन्दिर स्थापना भएको र यो मन्दिरमा चौधरी नै मूल पुजारी रहँदै आएको गढीमाइ पञ्चवर्षीय मेला समिति अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव बताउँछन् । उनका अनुसार मन्दिरको करिब डेढ सय वर्ष पुरानो इतिहास छ।
Facebook Comment