शिखर धवनको टिम विजयी, चितवन पराजित

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। शुक्रबार टियु क्रिकेट मैदानमा कर्णालीले चितवन रोइनोजविरुद्ध ६ विकेटको रोमाञ्चक जित हात पारेको हो। चितवनले दिएको १३१ रन कर्णालीले ४ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गरेको छ।

अन्तिम ओभरमा ९ रन चाहिएको अवस्था थियो। १९.४ ओभरमा अर्जुन घर्ती ११ रन बनाउँदै रन आउट भए। त्यसपछि गुल्सन झा क्रिजमा आए। १९.५ ओभरमा जिसन मक्सुदले चौका प्रहार गर्दै कर्णालीलाई जित दिलाए। जिसन १२ रन र गुल्सन शून्यमा अविजित रहे। यो कर्णालीको पहिलो जित हो। यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो।

कर्णालीका लागि देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रन को साझेदारी गरे। उनलाई ९.५ ओभरमा कुशल मल्लले एलबीडब्ल्यु आउट गराए। देव खनालले ३२ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए। दोस्रो विकेटका लागि धवनले चाड्विक वाल्टनसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे।

शिखरलाई भने लोफ्टी इटोनले १५.२ ओभरमा ४५ रनमा क्याच एण्ड बोल्ड बनाए। शिखरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका रूपमा चाड्विक वाल्टन पेभेलियन फर्किए। उनले १९ बलमा ३ चौका प्रहार गरे। चितवनका लागि कप्तान कुशल मल्ल र लोफ्टी इटोन, रवि बोपाराले समान १/१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको चितवनका लागि रवि बोपाराले सर्वाधिक ५९ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ४० बलमा ७ चौका १ छक्का प्रहार गर्दै अविजित रहे। शरद भेषवाकर ६ रनमा अविजित रहे। चितवनका लागि कप्तान कुशल मल्लले २७ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए। विपिन रावलले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। जिसन मक्सुदले २ विकेट लिए । सोमपाल कमी र नन्दन यादवले समान १/१ विकेट लिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *