गाउँ हाँक्ने थारू महिलाहरू
कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमन्सा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् ।
घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व लिन थालेपछि अन्य महिलासमेत उत्साही बनेका छन् ।
थारू समुदायमा जन्मदेखि मृत्यु संस्कार होस् या गाउँको बाटो, बिजुलीबत्ती, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका विकासमा भलमनसाको नेतृत्वदायी भूमिका हुन्छ । घोडाघोडी नगरपालिकामा थारू समुदायको ७६ गाउँमा ७६ जना भलमनसा छन् । तीमध्ये छ जना महिला भलमनसा रहेका छन् । १७ सदस्यीय नगर भलमनसा समितिमा कोषाध्यक्षसहित तीन जना महिला भलमनसा छन् । भर्खरै मात्र सम्पन्न भएको लवाङ्गी पूजा सम्पन्न गराउनसमेत महिला भलमनसाको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।
थारू समुदायको गाउँको नेतृत्व गर्ने, गाउँको समस्याको छिनोफानो भलमनसाले गर्दै आएका छन् । विगतमा पुरुष मात्र भलमनसा हुने थारू समुदायमा समय परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन भएपछि नेतृत्व लिनेको सङ्ख्या बढ्दै गएको नगर भलमनसा समितिका अध्यक्ष बुधराम चौधरी बताउँछन् ।
केही वर्षयता महिलाले भलमनसाको नेतृत्व समालेर गाउँको हरेक समस्या समाधान गर्दै आइरहेका छन् । नगर भलमनसा समितिका कोषाध्यक्ष सीतावी कठरियाले गाउँमा महिला भलमनसासँगै चिराकी (सूचनावाहक) मा समेत महिला रहेको बताइन् । गाउँमा कुनै बैठक, सभा गर्नुपरेमा वा खबर ल्याउने लैजाने काम चिराकीको हुन्छ ।
भलमनसा सीतावीले भनिन्, “सुरुसुरुमा हामीलाई विश्वास गरिएको थिएन, हामीले काम गर्न थालेपछि बल्ल विश्वास गर्न थालेका छन् ।” सीतावी दोस्रो कार्यकालको भलमनसा हुनुहुन्छ । उहाँले राम्रो काम गरेपछि गाउँलेले दोस्रो कार्यकालका लागि दोहोर्याएका हुन् ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० देउकलिया गाउँका भलमनसा दुर्गादेवी चौधरी र चिराकीमा इन्द्रादेवी चौधरी छन् । इन्द्रादेवी भलमनसा भएर काम गरेपछि अहिले चिराकीको भूमिकामा रहेको बताइन् । उनले भनिन्, “कुनै काम पर्यो भने गाउँमा सबैलाई भेला पार्ने काम म गर्छु, मैले भनेको गाउँलेले मान्नु पनि हुन्छ । भलमनसाले गरेको निर्णयमा सबैले साथ दिनुहुन्छ ।”
घोडाघोडी नगरपालिकामा पाको उमेरको भलमनसाका रूपमा राजकुमारी चौधरी छिन्। घोडाघोडी-१०, आमखैया मुक्तकमैया शिविरका ५६ वर्षीया राजकुमारीले भलमनसा भएर काम गर्न थालेको पाँच वर्ष भयो ।
उनी भलमनसा भएपछि गाउँमा चिराकी पनि महिला नै छिन् । गाउँमा पुरुष भलमनसाले भन्दा राम्रो काम राजकुमारीले गरेकाले उनलाई भलमनसामा गाउँलेले रुचाएको गीता चौधरीले बताइन्।
उनले भनिन्, “गाउँको विकास मात्र होइन, राजकुमारी भलमनसा भएपछि हामी महिलालाई सिपमूलक तालिमसँगै, बाख्रापालन, सुँगुरपालन, च्याउखेतीका लागि अनुदान माग गरेर समूह बनाई आयआर्जनमा जोड्न सहयोग गर्नुभएको छ ।”
चाँदनी आचार्य/कैलाली
Facebook Comment