चीनले नियुक्त गरेको तिब्बतका पञ्चेम लामा नेपाल आउँदै, संकटमा परराष्ट्र नीति
तिब्बत मामिलामा नेपालको परराष्ट्र नीति सधैं कमजोर हुने गरेको छ। चिनियाँ दबाब कारण नेपाल तिब्बत मामिलामा सधैं कमजोर बन्ने गरेको कूटनीतिक विशेषज्ञहरू दाबी गर्छन्। दलाई लामालाई कमजोर पार्ने चिनियाँ नीतिमा नेपाल चुकिरहेको उनीहरू बताउँछन्।
यसपटक फेरि यस मामिलामा नेपालको परराष्ट्र नीति कमजोर देखिएको छ। चीनले ११औं पञ्चेम लामाको रूपमा नियुक्त गरेका ग्याल्त्सेन नोर्बु नेपाल भ्रमणमा आउने भएका छन्। चीनले दलाई लामालाई कमजोर पार्न नोर्बुलाई पञ्चेम लामामा नियुक्त गरेको यसअघि नै कूटनीतिक विज्ञहरूले दाबी गर्दै आएका छन्। नेपाल भ्रमणका क्रममा उनले फेरि दलाई लामालाई कमजोर पार्ने गतिविधि गर्नसक्ने स्रोतहरूले बताएको छ। नेपाल चीनको दबाबमा उनको भ्रमण स्वीकृत गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार ग्याल्त्सेन नोर्बु मंसिर २८ गते (डीसेम्बर १४)मा नेपाल भ्रमणमा आउँदैछन्। उनी पुस २ गतेसम्म नेपालमा रहनेछन्। नेपाल भ्रमणका क्रममा रुपन्देहीको लुम्बिनीमा आयोजना हुने भनिएको नवौं साउथ चाइना सी (नान्हाइ)मा उनले भाग लिँदैछन्। नेपालमा रहँदा उनले तिब्बत मामिलामा चीनको पक्षपोषण गर्ने खालका गतिविधि गर्नसक्ने स्रोतहरूको बुझाइ छ।
‘तिब्बत मामिलामा नेपाललाई एकदमै संवेदनशील मानिन्छ। यसअघि भएका गतिविधिले पनि नेपाल तिब्बत मामिलामा संवेदनशील रहेको सुरक्षा निकायहरूको पनि निष्कर्ष रहँदै आएको छ। तर, संवेदनशील क्षेत्रमा दलाई लामाका विरोधी र चीनको पक्षपोषण गर्ने व्यक्तिलाई नेपालमा भ्रमण अनुमति दिनु हुँदैनथ्यो। यो कूटनीतिक हिसाबले पनि नेपालको पराष्ट्र नीतिविपरीत छ,’ एक कूटनीतिक मामिलाका जानकारले भने।
नेपालले असंलग्नता र पञ्चशील विदेशनीतिका मार्गनिर्देशक सिद्धान्त भएको दाबी गरिए पनि तिब्बत मामिलामा चुकिरहेको उनको भनाइ छ। यसले नेपालको परराष्ट्र नीति संकट रहेको उनले बताए। ‘हाम्रो परराष्ट्र नीति संकटमा देखिन्छ। यसलाई सुधार गर्न आवश्यक छ,’ स्रोतले भन्यो। नेपालमा ग्याल्त्सेन नोर्बुको भ्रमणलाई निगरानीमा राख्नुपर्ने उनीहरूको भनाइ छ।
Facebook Comment