अमेरिकी थारूहरूको संस्था टीएफएद्वारा छात्रवृत्तिबापतको अन्तिम किस्ता प्रदान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई अन्तिम किस्ता बापतको रकम प्रदान गरेको छ। सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई अन्तिम किस्तान प्रदान गरेको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिए। यसअघि छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरिएको थियो।

अन्तिम किस्ता रकम प्रदान गर्नुअघि टीएफएले विद्यार्थीहरूसँग भिडियो कन्फ्रेन्स गरेको थियो। टीएफए पदाधिकारीहरूले विद्यार्थीहरूसँग छात्रवृत्ति रकमको खर्च र प्रगति विवरणबारे जिज्ञासा राखेका थिए। विद्यार्थीहरूले पढाइसँग सम्बन्धित विषयमा खर्च गरेको बताएका थिए। उनीहरूले भर्ना शुल्क, मासिक शुल्क तथा स्टेशनरी खर्चमा रकम सदुपयोग गरेको बताए। उक्त रकमले पढाइका लागि सहजता प्रदान गरेको विद्यार्थीहरूको भनाइ थियो।

टीएफए पदाधिकारीहरूले विद्यार्थीहरूलाई भविष्यमा सामाजिक काममा पनि योगदान गर्न सुझाएका थिए। विद्यार्थीहरूले पनि टीएफए छात्रवृत्ति पाउनु खुसीको कुरा भएको र भविष्यमा थारू समाजका निम्ति योगदान गर्ने बताएका थिए।

टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति प्रदान गरेको थियो। जसमा स्नातक पढ्ने ८ जनालाई जनही ३० हजार, प्लस टु पढ्ने ९ जनालाई जनही २० हजार र ३ जनालाई ३६ हजार रुपैयाँको ‘नेम्ड छात्रवृत्ति’ प्रदान गर्ने निर्णय गरेको थियो।

छात्रवृत्ति पाउने स्नातक तहका विद्यार्थीहरूमा कैलालीका निरज चौधरी, सप्तरीका राहुल चौधरी, रुपन्देहीका अपिल चौधरी, नवलपरासीका कृष्णप्रसाद चौधरी, महोत्तरीका आदित्यराज चौधरी, बाँकेका सन्ध्या चौधरी, रुपन्देहीकी श्रेया चौधरी र रुपन्देहीकै गोपाल थारु छन्। उनीहरू एग्रिकल्चर, इन्जिनियरिङ, मेडिकल र विज्ञान विद्याका विद्यार्थीहरू रहेको टीएफएले जनाएको छ।

त्यस्तै छात्रवृत्ति पाउने प्लस टुका विद्यार्थीहरूमा पर्साकी दिलकुमारी थारू, नवलपरासीका दीपेश महतो, रौतहटकी प्रिती चौधरी, सुनसरीका साहिल चौधरी, दाङकी हिमाली चौधरी, रुपन्देहीकी सुश्मा चौधरी, बाराकी नेहा चौधरी, रौतहटकी प्रतिभा चौधरी, सुनसरीकी जेनिशा चौधरी र बाँकेका प्रयान चौधरी छन्।

त्यस्तै नेम्ड छात्रवृत्ति पाउनेहरूमा स्नातक तहमा अध्ययनरत दाङका अशोक चौधरी र कैलालीकी हेमा चौधरी र प्लस टु लेभलमा मेडिकल पढिरहेकी बाँकेकी दिलकुमारी थारू रहेका छन्।
यसैबीच सन् २०२४-२०२५ का लागि पनि टीएफएले छात्रवृत्ति आवेदनका लागि आह्वान गरिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *