“थारू गाउँ’को नाममा सुदूरपश्चिम महोत्सवले थारूको संस्कृति र स्वाभिमानमाथि आँच पुर्यायो”
सुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्शृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्। धनगढीमा जारी रहेको महोत्सवमा कला, संस्कृति दर्शाउनका लागि थारु गाउँ राखिएको छ। तर, त्यसको दुर्दशा र त्यहाँको गतिविधिले थारु समुदायलाई बद्नाम गरिरहेको संघसंस्थाको बुझाइ छ।
थारु कल्याणकारिणी सभा कैलालीसहित नौ वटा संघसंस्थाले सो कार्यप्रत्ति आपत्ति जनाउँदै महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएका छन्। थारु समुदायको बसोबास रहेको ठाउँमा आयोजना गरिएको महोत्सवमा थारु गाउँ राख्नुको कुनै औचित्य नरहेको संघसंस्थाहरूको जिकिर छ। आगामी दिनमा यस्ता क्रियाकलाप गर्दा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गर्न आग्रह गरिएको छ।
त्यतिमात्र होइन, थारुको पहिचानसम्बन्धी मुद्दालाई ओझेलमा पार्नेगरी कैलाली महोत्सवलाई सुदूरपश्चिम महोत्सवको नाम दिइएको थारु संस्थाहरूको आरोप छ। ‘उपरोक्त सम्बन्धमा कैलाली जिल्लास्थित धनगढीमा कैलाली उद्योग वाणिज्य संघले कैलाली महोत्सव नामले महोत्सव सुरुवातीको क्रममा थारु समुदायको सौहार्दता र साथ समर्थन रहेको जगजाहेर छ। पछि देशमा संविधान निर्माण सबै थरुहट थारुवानको नामले पहिचानको मुद्दामा राजनीतिक आवाज जोडतोडका साथ मुद्दा उठान हुँदै गर्दा सो थरुहट थारुवानको मुद्दा ओझेलमा पार्ने गरी एक पक्षीय ढंगले तथाकथित सुप महोत्सव को नामले प्रत्येक वर्ष महोत्सव निरन्तरता दिने कैलाली उद्योग वाणिज्य संघको क्रियाकलापप्रति असहमति जनाइ थारु समुदायको तर्फबाट संस्थागत रूपमा महोत्सव बहिस्कार गर्ने निर्णय भयो। तत् पश्चात् हालसम्म पनि थारु समुदाय आधिकारिक रुप सुप महोत्सवमा सहभागी नभएको कुरा सर्वविदित छ,’ सचेत गराइएको पत्रमा भनिएको छ।
गत वर्षदेखि महोत्सवमा थारु गाउँको नाममा थारु संस्कृतिको र स्वाभिमानमाथि नै आँच आउने क्रियाकलाप भइरहेको उनीहरूको भनाइ छ। ‘विगत एक वर्ष देखि पुनः कैलाली उद्योग वाणिज्य संघले जानाजान थारु समुदायको संस्कृति र स्वाभिमान माथी आँच आउने किसिमको उश्रृखल क्रियाकलाप प्रदर्शन हुने तथा विकृति हुने गरी व्यवस्थापन गरिएको थारु गाउँ को दुर्दशाप्रति गम्भीर आपत्ति जनाउँदछौं। थारुहरुको आदिम भूमिमा जहाँ भौतिकरूपमा वर्षौंवर्ष अगाडिदेखि अवस्थित थारु गाउँको बीचमा रहेको धनगढीमा थारु गाउँ व्यवस्थापन गर्नुको कुनै औचित्य नरहेको हाम्रो ठहर हो। यसर्थ थारु लगायत यस क्षेत्रको सम्पुर्ण संस्कृति खानपान सीप कला गीतवास रहनसहन महोत्सवको मुख्य मंचमा प्रदर्शनी गर्दा सामाजिक सद्भावको सिर्जना हुन्छ र सबैले सबैको पहिचान, स्थानीय उद्दमशिलता, स्थानीय उत्पादन, कृषि तथा व्यापार, स्थानीय पर्यटन प्रवर्द्धनप्रति प्रशिक्षित हुने अवसर हुने कुरा अवगत गराउँदछौं। यसर्थ आगामी दिनमा अब उप्रान्त यस्ता क्रियाकलाप सम्बन्धित सरोकारवाला संघ संस्थाहरूसँग समन्वय गरी गर्न गराउन हुन यसै परिपत्र मार्फत सचेत गराइएको ब्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, राष्ट्रिय थारु कलाकार मंच सुप प्रदेश समिति, थारु नागरिक समाज कैलाली, नगर भल्मन्सा समिती धनगढी, थारु कल्याणकारिणी सभा धनगढी नगर समिति, थारु विद्यार्थी समाज कैलाली, नेपाल राना थारु समाज कैलाली र सखी संजाल धनगढीको एक्यवद्धता रहेको छ।
Facebook Comment