कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो। चितवन राइनोजलाई २१ रनले एलिमिनेटरमा पराजित गर्दै कर्णाली दोस्रो क्वालिफार्यस प्रवेश गरेको थियो।

जनकपुर भने पहिलो क्वालिफार्यसमा सुदूरपश्चिमसँग ८ विकेटले हार बेहोरेको थियो। जनकपुरले फाइनल पुग्न यो दोस्रो मौका पाएको थियो। टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । उनलाई विपिन शर्माले १५.३ ओभरमा बोल्ड गरे।

ओपनर शुभ कन्साकर ३ र आसिफ शेख ४ रनमा क्याच भए। तेस्रो विकेट लाहिरु मिलान्था २ रनमा क्याच हुँदा जनकपुरको ब्याटिङ धरापमा परेको हो।
पावरप्लेमा जनकपुरले २ विकेट गुमाउँदै २६ रन मात्रै जोडेको हो। चौथो विकेट ९.६ ओभरमा आकाश त्रिपाठीको विकेट गयो। उनलाई जिसन मक्सुदको बलमा वाल्टनबाट स्टम्पिङ भए। उनले २० बलमा १ चौकासहित १३ रन बनाए।

छैटौं विकेटको रुपमा जेम्स निसम आउट भएपछि पुन ब्याटिङमा समस्या देखिएको जनकपुरका लागि १८.२ ओभरमा शेर मल्लले नन्दन यादवलाई छक्का प्रहार गर्दै खेलमा जनकपुरलाई फर्काए। उनी १० बलमा १ छक्कासहित १६ रनमा अविजित रहे। त्यस्तै, किशोर महतो शुन्यमा अविजित रहे।

कर्णालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी, विलियम वासिस्टो र जिसन मक्सुदले समान १र१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। ओपनर देव खनालले २४ रन बनाएर क्याच भए । जिसन मक्सुद १२ रन विलियम वासिस्टो १४ रन र चाड्विक वाल्टनले ११ रन बनाए।

युनिस विक्रम शाहीले १२ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोसिनले समान २/२ विकेट लिए। शेर मल्ल र हर्ष थाकरले समान १/१ विकेट लिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *