संविधान संशोधनका एजेण्डामा सहकार्य गर्न नागरिक उन्मुक्तिसहित मधेसवादी दलको ‘लुज फोरम’ बन्ने
तराई-मधेश आधारित राजनीति गर्ने दलहरूबीच विभिन्न राजनीतिक बुँदामा सहकार्यका लागि ‘लुज फोरम’ गठन हुने भएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले त्यसका लागि वार्ता टोली नै गठन गरिसकेको छ ।
‘राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ । तसर्थ, जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरूलाई सहकार्य गर्न अनुरोध गर्दछौं’, त्रिपाठीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । त्यसका लागि जप्रपाका तर्फबाट डा. शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबीर हुसेन सम्मिलित वार्ता टोली गठन गरिएको छ ।
विभिन्न मुद्दामा सहकार्य गर्ने भनेर यसअघि नै डा. सीके राउत नेतृत्वको जनमत पार्टी, जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबीच सहमति भइसकेको छ । ‘हामीले ती तीनवटा राजनीतिक दलबीच पहिले नै विभिन्न मुद्दामा सहकार्य गर्ने भनेर सहमति गरिसकेका छौं’, त्रिपाठीले लोकान्तरसँग भने, ‘अब अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने भनेर लुज फोरम बनाउन हामी अघि बढेका छौं ।’
सहकार्यका लागि त्रिपाठीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग आफैं पनि संवादमा रहेको खुलाए । ‘म आफैंले ठाकुरजीसँग कुरा गरेको थिएँ । कुन-कुन विषय तथा मुद्दामा सहकार्य गर्ने भनेर सूची नै उहाँलाई पठाइसकेको छु’, त्रिपाठीले भने । त्यसैगरी, रेशम चौधरीसँग पनि आफैं संवादमा रहेको उनले खुलाए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि संवाद भइरहेको उनले बताए । ‘ती दुई दलबीच म आफैंले त संवाद गरेको छैन । तर, हाम्रा पार्टीका साथीहरूले संवाद गरिरहनु भएको छ’, उनले थपे ।
संविधान संशोधनसहित विभिन्न समसामयिक राजनीतिक मुद्दामा सहकार्य गर्न लागिएको त्रिपाठीले बताए । ‘हामीले विगतको जस्तो कुनै मोर्चा बनाउने होइन । सहकार्य गर्नका लागि लुज फोरम मात्र बनाउन लागेका हौं’, त्रिपाठीले भने । देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख रहेको, बिग्रिँदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा रहेकाले सहकार्य गर्न लागिएको उनको दाबी छ ।
Facebook Comment