के यो रेशम-रञ्जिताको पुनर्मिलन हो?
पार्टीको नेतृत्व विवादले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी टाढिएको महिनौं वितिसकेको छ। विवाद अदालतसम्म पुगेपछि श्रीमान श्रीमतीसमेत रहेका उनीहरूबीच लामो समय वार्तालाप पनि नभएको निकटस्थहरू बताउँछन्। यद्यपि, काठमाडौंमा उनीहरू गुपचुपरूपमा भेट्ने गर्थे। छोरा आभुषणका लागि भए पनि उनीहरू भेट्ने गरेको बताइन्थ्यो।
लामो समयपछि उनीहरू सार्वजनिकरूपमा एउटै फ्रेममा अटेका छन्। कैलाली क्षेत्र नं १ का निर्वाचित सांसदसमेत रहेकी रञ्जिता लामो समय गृहक्षेत्र पुगिनन्। श्रीमान श्रीमतीबीच विवादकै कारण उनी त्यहाँ जान नसकेको बताइन्थ्यो। तर, हालै उनी निर्वाचन क्षेत्रमा पुगिन्। पार्टी, पालिका र विभिन्न संघसंस्थाको कार्यक्रममा उनी सरिक पनि भइन्। त्यसक्रममा उनी ससुरा लालवीर चौधरीको निर्वाचन बर्दिया क्षेत्र नं २ मा पनि पुगिन्। पछिल्लो समय रेशम पनि बर्दियामा बस्दै आएका छन्।
ससुरा लालवीरको निर्वाचन क्षेत्रमा पार्टीले आयोजना गरेको कार्यक्रममा रेशम-रञ्जिताको सार्वजनिकरूपमा पुनर्मिलन भएको हो। कार्यक्रममा उनीहरू एकसाथ बसेको र कार्यक्रमलाई सम्बोधनसमेत गरेका थिए। उक्त तस्बिर सार्वजनिक भएपछि धेरैले रेशम-रञ्जिताबीच पुनर्मिलन भएको अड्कलबाजी गरेका छन्। यद्यपि उनीहरूबीच पार्टी नेतृत्वका लागि अझै विवाद रहेको बताइन्छ। यो कुरा रञ्जितासँगै टोलीमा रहेका नेताहरूले पनि पुष्टि गर्छ। उनको कार्यक्रममा रेशम गुटका नेताहरू प्रायजसो देखिँदैन। उनलाई संस्थापक सदस्यहरू दामोदर पण्डित र कमोल ज्ञवालीले साथ दिइरहेका छन्।
रञ्जिताले पनि फेसबुकमै रिसाएर जाने आफू नभई रेशम नै रहेको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘मत माया गर्दै थिएँ रिसीने तिमी हौं, धोका दिनेहरूसँगै मिसिने तिमी हौं’। यसले के पनि पुष्टि हुन्छ भने उनीहरू सार्वजनिकरूपमा देखिए पनि पार्टी विवाद कायमै रहेको छ।
टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट रेशम चौधरी निर्विरोध अध्यक्ष बनेका थिए। त्यहीँबाट श्रीमान श्रीमतीबीच विवाद सुरू भएको थियो। यो विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। टीकापुर घटनामा आजीवन काराबास पाएका रेशम चौधरी राष्ट्रपतिको कैद माफीबाट जेलमुक्त भएका थिए। फौजदारी कसूर भोगेका उनलाई राष्ट्रपतिको माफीले राजनीति गर्ने बाटो खोलिदिएको दाबी रेशमले गर्दै आएका छन्। यससम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा गएको छ। पटक-पटक यस मुद्दाको पेसी तोकिए पनि अन्तिम सुनुवाई हुन सकेको छैन।
यो पनि पढ्नुस् :
रेशमविरुद्ध खनिइन् रञ्जिता, भनिन्- न छोरा पढाउनु परेको छ, न श्रीमती पाल्न
+2