मेयरसँग बरघर विधेयक माग, महिला बरघर भन्छिन्- ‘गाउँलेहरू टेर्दैनन्

बारबर्दिया नगरपालिकाका थारु गाउँका अगुवा बरघरहरूले पालिकाले पहिलो पटक बरघर ऐन पारित गरेको तर विधेयक नबनाउँदा बरघर सञ्जालमार्फत् कुनै काम गर्न नसकेको पीडा पोखेका छन्। लमही-५, दाङस्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा पुस ८ गते सोमवार बर्दियाको बारबर्दिया नगरसभा हलमा बरघरहरूको समावेशी मापन भेलामा उक्त पीडा पोखिएको हो।

करिब एक सय जना बरघरहरूको उपस्थिति रहेको सो कार्यक्रममा बारबर्दिया नगर बरघर सञ्जालका निवर्तमान अध्यक्ष कालीराम चौधरीले बरघर विधेयक पारित नहुँदा बरघर सञ्जालको नाममा छुट्टै खाता खोल्न नसकिएको, पालिकामै पनि कुनै प्रोपोजल दिन नसकिएको बताए।

उता, बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागीले सकेसम्म सबै बरघरलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने, नगर बरघर सञ्जालका पदाधिकारीलाई इन्धन, रिचार्जको व्यवस्था हुनुपर्ने आवाज उठाए। उनले अब बरघरहरू भोकभोकै लामो समय खट्न नसक्ने, पारिश्रमिकको व्यवस्था नगरिए बरघर प्रणाली नै धरापमा पर्नसक्ने बताए।

नगर बरघर सञ्जालका निवर्तमान सचिव कृष्णप्रसाद चौधरी सवालले बरघरहरूले पहिलेको जस्तो सामाजिक सम्मान नपाएको, पालिकाले समेत विधेयक नबनाएकाले मान्यता दिएको अनुभूति नभएको धारणा राखे।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरीले पालिकाले बरघर विधेयक पारित गर्ने तर यसबारे पर्याप्त गृहकार्य हुन नसकेको बताए। नगर बरघर सञ्जालका पदाधिकारीहरू सार्वजनिक कार्यक्रममा गुनासो गर्नुभन्दा विधेयक मस्यौदामा सघाउन उनको आग्रह थियो। साथै, मरुवा, भूइहार थानमा पूजा पुज्ने गाउँका बरघरहरू नै असली बरघर भएकाले विधेयकमा मरुवाको प्रसंग थपिने उनको भनाई थियो। उनले बरघरहरू पनि सरकारकै एक अंग भएकाले हीनताबोध महसुस गर्न नहुने धारणा राखे।

बारबर्दिया-७, बौद्धनगर (मरघट्टी) की बरघर गीता चौधरीले पुरुषहरूको तुलनामा गाउँलेहरूले महिला बरघरलाई नटेरेको गुनासो गरिन्। तर यसो भन्दैमा महिलाहरू नेतृत्व लिने सवालमा पछि पर्न नहुने, केहीले जिम्मेवारी पाए अरु महिलालाई पनि हौसला बढ्ने भएकाले पुरुषहरू महिलालाई गाउँको जिम्मेवारी दिन तयार हुनपर्ने उनको भनाई थियो।
२ नं वडाका वडाध्यक्ष रामफेरन थारुले आफूले कुनै काम गर्नुअघि आफ्ना वडाका बरघरहरूसंग सल्लाह लिने गरेकोमा बरघरहरूसंग सहकार्य गरेर जनप्रतिनिधिहरू सदैव अघि बढ्न तयार रहेको बताए। उनले ६० प्रतिशत बरघरहरू टोल विकास समितिमा पनि रहेकाले विकासको काममा वाधा नरहेको जिकिर गरे।

थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरूको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए। कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *