थाकस युएईले माघी मनाउँदै, राज कुश्मी र अन्जु कश्मीले बेजोड प्रस्तुती दिने

थारू कल्याणकारिणी सभा (थाकस) युएईले यस वर्ष पनि माघी मनाउने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” नारासहित थाकस युएईले ११औं वार्षिक भेला तथा तिला सकरा, खिचरा, खिचरी, खिचडी, माघ, माघी नाम दिएर कार्यक्रम गर्न लागेको हो।

जनवरी १२ अर्थात् पुस २८ गते आइतबारका दिन बर दुबईस्थित क्लब एभरेष्ट अष्टोरिया होटेलमा कार्यक्रम आयोजना हुने महासचिव खेम महतो थारूले जानकारी दिए। उनका अनुसार कार्यक्रम मध्यान्ह १२ बजे सुरू हुनेछ।
कार्यक्रममा युएईमै रहेका थारू कलाकार र नेपालबाट पनि प्रख्यात दुई जना कलाकारको प्रस्तुत हुने आयोजकले जनाएको छ। महासचिव महतोका अनुसार नेपालबाट यस वर्ष राज कुश्मी र अन्जु कुश्मी युएई जाँदैछन्। राज र अन्जुले माघी कार्यक्रमलाई बेजोड प्रस्तुती दिने आयोजकको भनाइ छ।

त्यसतै कार्यक्रममा युएईमै रहेका चर्चित गायक केशव राज महतोको पनि प्रस्तुती रहनेछ। उनले कार्यक्रमलाई सञ्चालनसमेत गर्ने आयोजकले बताएको छ। त्यस्तै भुपेन्द्र थनेत, देवराज थारु, आयुष महतो, शोभा, कुमार, रजिता चौधरी, जनकी महतो, अभिमन्यु चौधरी, कौशिला महतो, बुद्धि महतो, प्रविण चौधरी, सानु महतो, अनिल भगत र जिया महतोको पनि प्रस्तुती रहनेछ।

त्यस्तै कार्यक्रममा थारू परिकार र सांस्कृतिक झाकी पनि प्रस्तुत गरिनेछ। थाकस युएईका सभापति भागरथी कुमार भगतले माघी कार्यक्रमका लागि भव्य तयारी भइरहेको बताए। उनले प्रवासमा रहेका थारूहरूलाई एकै ठाउँमा भेला गर्न र थारूहरूको पर्वलाई उत्साहपूर्ण मनाउन कार्यक्रम आयोजना गरिएको बताए। उनले युएईमा रहेका थारूसहित सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *