एक महिना बित्दा पनि आएन रमेश र शर्मिलाको पोस्टमार्टम रिपोर्ट

विवेक पोख्रेल/कान्तिपुरबाट साभार

एक महिनाअघि सिनामंगलस्थित एक होटलको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका माझी दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । एक महिना पुग्दासमेत पोस्टमार्टम र मोबाइल फरेन्सिक जाँचको रिपोर्ट नआएपछि परिवार थप चिन्तामा छ। मंसिर ८ मा क्यानडाबाट फर्किएका दुहबी नगरपालिका-८, सुनसरीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी भोलिपल्ट बिहान मृत फेला परेका थिए ।

ग्रामथान गाउँपालिका-३, मोरङकीकी शर्मिलासँग रमेशले २०६९ सालमा विवाह गरेका थिए । रमेश विज्ञानमा स्नातक गरेर स्नातकोत्तर अध्ययनका लागि सन् २०२२ मा क्यानडा पुगेका थिए । उनले केही महिनामा शर्मिलालाई पनि डिपेन्डेन्ट भिसामा बोलाएका थिए । मृतक दम्पतीका ६ वर्षका छोरा छन् । रमेश र शर्मिला नेपाल आउने जानकारी परिवारका कसैलाई पनि थिएन ।

रमेशका भिनाजु नारदकुमार माझी महिनौं हुँदा पनि ल्यापको रिपोर्ट नआउँदा परिवारमा थप पीडा भएको बताउँछन् । ‘हामीलाई धेरै कुरा थाहा पनि छैन, परिवारको एकमात्र छोरा हुनुहुन्थ्यो । आमाबुवा पनि वृद्ध हुनुहुन्छ । रिपोर्ट आएमा विदेशको बिमाको बारेमा पनि बुझ्न सजिलो हुन्थ्यो,’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार रिपोर्टमा हस्ताक्षर गर्ने डाक्टर विदेश रहेकाले पोस्टमार्टम रिपोर्ट नआएको बताउँछन् । मोबाइल फरेन्सिक रिपोर्ट आउन भने अझै समय लाग्ने उनले बताए ।

प्रहरीका अनुसार झुन्डिनुअघि उनीहरू सँगसँगै होटलनजिकको किराना पसलमा पुगेको र दुई प्याकेट ब्लेड किनेर ल्याएको देखिन्छ । कोठाभरि रगत र ब्लेड छरिएको अवस्था थियो । दुवै जनाले ब्लेडले बायाँ हात काटेको प्रस्ट देखिएको प्रहरीको भनाइ छ ।

परिवारको आशा निभ्यो
उनीहरूका ६ वर्षका छोरा छन् । बा कचु माझी र आमा नेप्टी माझीको सहारा उनै रमेश थिए । उनी परिवारको एक मात्र छोरा हुन् । शर्मिलाका बुवा भने प्यारालाइसिसका बिरामी छन् ।‘हाम्रा मान्छे ठाउँमा पुगेका छन् । सामान्य परिवारका हामी आर्थिक र सामाजिक रूपमा पनि थप सफल बन्ने सपना थियो । हामीले कसैको केही बिगारेका छैनौं । तर हाम्रो परिवारमा नै किन यस्तो घटना भयो ?,’ नारदकुमार माझीले मलिन अनुहार बनाउँदै भने । छोराबुहारीको आत्महत्याको खबर पाएपछि उनी काठमाडौं आएका थिए । उनी प्रहरी हबल्दारसमेत हुन् । ‘घरमा अरु छोरा मान्छे छैनन्, सबैले के भएर यस्तो भयो भनेर सोध्छन् । हामीसँग यसको कुनै उत्तर छैन,’ उनले हातमा भएका डकुमेन्ट देखाउँदै भने, ‘केही जानकारी मिल्छ कि भनेर दूतावास धाइरहेको छु ।’

छोराको फोन कुर्दै थिइन् आमा
माझी दम्पती नेपाल आउने कुरा परिवारका कसैलाई थाहा थिएन । अन्तिमपटक आमाले रमेशलाई अनलाइनबाट भिडियो कल गरेकी थिइन् । त्यतिबेला रमेशले आफू बाहिर भएको भन्दै कोठामा पुगेर कल गर्ने बताए । छोराको फोन कुर्दै बसेकी आमा नेप्टीलाई छोरा–बुहारीको मृत्युको खबरले मर्माहत तुल्याएको छ भने नाति टुहुरो भएकामा चिन्ता पनि उत्तिकै थपिएको छ ।

‘बाआमालाई पनि उहाँले क्यानडा लान्छु भन्नुहुन्थ्यो । विदेशिएको छोरा नेपाल फर्किएपछि मृत्युको खबर सुन्नुपयो,’ नारदले भने, ‘उहाँहरू कहिल्यै झगडा गरेको हामीलाई थाहा छैन । विदेशमा पनि एउटै कम्पनीमा काम गरेको भन्ने जानकारी छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *