जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको हो?

डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। यस विषयमा अध्यक्ष राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ। पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति ‘बलिया’ देखिएका छन्। दुवै पार्टी मिले भने पूरै मधेस कब्जा हुने उद्देश्यले एकता हुन लागेको बताइएको छ। एउटा सानोतिनो उद्देश्य बनाएर मोर्चाबन्दी गर्नुभन्दा पनि दीर्घकालीन सोचका साथ मोर्चाबन्दी या एकता गरेर अगाडि बढ्नुपर्ने गरी राउत र चौधरीबीच कुराकानी अगाडि बढेको छ।

जनमतका एक पदाधिकारीले भने, ‘आजैको आज एकता हुँदैन। कुराकानी चलिरहेको छ। दीर्घकालीन सोचका अनुसार सहकार्यलाई अगाडि बढाउने, केही समय कार्यगत एकता गर्ने, त्यसपछि पार्टी नै एकीकरण गर्ने गरी कुरा अगाडि बढिसकेको छ।’

उनले आजको दिनमा दुवै पार्टी कमजोर भएका छन्, एकता गर्ने बाध्यता रहेको बताए। दुई जनाबीच आजदेखि नै होइन, धेरै पहिलादेखि यो विषयमा कुराकानी चल्दै आएको उनको भनाइ छ। रेशम चौधरी जेलमै रहेको बेला नागरिक उन्मुक्ति र जनमतबीच कार्यगत एकताका लागि २०७९ पुस २४ गते १२ बुँदे सम्झौता भएको थियो। त्यसलाई निरन्तरता दिएर अगाडि बढ्ने कुरा भएको नागरिक उन्मुक्तिका एक नेताले बताए।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने जनमतसँग एकताको कुनै पनि कुरा नभएको दाबी गरिन्। उनले भनिन्, ‘जनमत पार्टीसँग एकता वा मोर्चाबन्दीको कुरा भएको भए मलाई अवश्य थाहा हुन्थ्यो। तर, अहिले त्यस्तो केही भइरहेको छैन। केही भयो भने तपाईंहरूलाई जानकारी आइहाल्छ ।’

जनता प्रगतिशीलका अध्यक्ष त्रिपाठीले मधेस केन्द्रित दलका हरेक अध्यक्षसँग एक चरण भेट गरिसकेका छन्। उनले अध्यक्ष राउत र चौधरीलाई पनि भेटिसकेका छन्। सहकार्यका उनीहरू पनि त्रिपाठीसमक्ष सहमति जनाएका छन्। तर त्रिपाठीको पहलमा बन्न लागेको मोर्चाप्रति राउत र चौधरी गम्भीर देखिएका छैनन्।

उनीहरूले कसैलाई पार्टीको अध्यक्ष, सांसद, मन्त्री बनाउन मोर्चाबन्दी नगर्ने भनेका छन्। चुनावमा गठबन्धन गर्ने र दुई चार सिट जिताउन मोर्चाबन्दी गर्ने पक्षमा राउत र चौधरी देखिँदैनन्। मधेसको राजनीतिमा आमूल परिवर्तन ल्याउन मात्र मोर्चाबन्दी गर्ने भनी उनीहरू स्पष्ट पारेका छन्। रातोपाटी साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *