सुरू भयो माघी, थारू गाउँमा जिता मार्दै
थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरु भएको छ। विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ-बस्तीमा यो पर्व सुरु भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए।
आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बंगुर काट्ने) क्रियाकलाप सुरु भइसकेको थारू अगुवा चौधरीले बताए। त्यस्तै, राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवानका नाममा ध्वनि जगाएर (धमार) भजनकीर्तन गर्ने, आगो ताप्ने, गन्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए।
‘माघेसंक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने वेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ। त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ,’ उनले भने, ‘त्यसपछि घरमा भएका पुर्खा तथा आफूभन्दा ठुलाबडाबाट आशीर्वाद लिने परम्परा रहिआएको छ।’ तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए।
थारू समुदायको मुख्य पर्व भएकाले यतिवेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको गोदावरी नगरपालिका-८ फकलपुरका स्थानीय माधव चौधरीले बताए । उनले भने, ‘थारू समुदाय बसोबास गर्ने गाउँ–बस्ती अहिले माघीमय भएका छन्।’ यतिमात्र नभएर थारू जातिको परम्परा, लोकसंस्कृति झल्कने मघौटा नाच, लोकगीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ।
यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन्। ‘माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबन्डालगायत कार्यको थालनी हुन्छ,’ चौधरीले भने, ‘यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ।’ यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ-नयाँ लुगाकपडा लगाउने चलन छ। रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन्।
पर्वमा विशेष गरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोँगी, बंगुरको मासु, माछा, गँगटालगायत स्थानीय खानाका पकवान खाने चलन छ। बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढीको बैयाबेहडीका माइला चौधरी बताउँछन्। ‘गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीभाइ मिलेर रमाइलो गरिरहेका छौं, खानपिन गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो समुदायको यो पर्वको चहलपहलले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ।’ माघी मनाउन थारू समुदायका गाउँ, बस्ती आसपासका क्षेत्रमा गाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ। माघी पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ।
Facebook Comment