‘थारू साहित्यमा पहाडी लेखको रुची लाग्नु तर थारूलाई नलाग्नु दुःखद’

साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले माघी पर्वको पूर्वसन्ध्यामा कोहलपुर नगरपालिका अन्तर्गतको थारु गाउँ रझेनामा ‘बदलिँदो थारु समाज र साहित्य’ विषयक विचारगोष्ठी सम्पन्न गरेको छ।

सो कार्यक्रममा थारु समुदायका अगुवा तथा वरिष्ठ साहित्यकार डा कृष्णराज सर्वहारी र डा. राजकुमार चौधरीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमार्फत थारू साहित्यको इतिहास र वर्तमानबारे डा. सर्वहारीले विस्तृत रूपमा प्रकाश पारे।

उनले पहाडी मूलका लेखकले थारू भाषा र साहित्यमा सक्रियता देखाउने तर थारू लेखकहरूले अपेक्षाकृत नलेख्नु दुःखलाग्दो विषय भएको बताए। अर्का अगुवा डा. राजकुमार थारूले बदलिँदो समय र युगको बेला थारू मौलिक संस्कृतिको महत्त्व नयाँ पुस्तालाई सिकाउन जरूरी भएको बताए।

थारु साहित्यकार शेखर दहितले दुबै कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यपत्रहरू निकै महत्त्वपूर्ण रहेको भन्दै विश्वव्यापीकरण र समयको मागअनुसार विकास र परिवर्तन हुने भए पनि संस्कृति नै मौलिक पहिचान हो भन्ने समाजले कहिले पनि भुल्न नहुने बताए। थारू जाति र माघी पर्वको महत्त्व एकअर्कासँग प्रगाढ रूपमा गाँसिएको जनाउँदै माघी पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व भएकोले सो पर्वले उनीहरूको जीवनशैली, संस्कृति र इतिहासलाई प्रतिबिम्बित गरिरहेको वक्ताहरूको भनाइ थियो।

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य सन्जुकुमारी चौधरी, नेपाल पज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, साहित्यकार प्रकाश मरासिनी र कशेव निमेष लगायतले आफ्नो धारणा राखेका थिए। बरघर, गुरुवालगायत थारू समुदायका साहित्यकार, पत्रकार र स्थानीयको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा थारु नृत्य पनि प्रस्तुत गरिएको थियो। नयाँ तरिकाले पर्वलाई गाँसेर गरिएको कार्यक्रम सफल भएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *