टुँडीखेल माघी महोत्सवमा प्रधानमन्त्री ओली नआउने, गच्छदारले उद्घाटन गर्ने
काठमाडौंको टुँडीखेलमा आयोजना हुने थारू माघी महोत्सवको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजक थारू कल्याकारिणी सभालगायत थारू संघसंस्थाहरूले गच्छदारलाई प्रमुख अतिथि बनाउने निर्णयमा पुगेका हुन्।
यसअघि देशको प्रधानमन्त्रीले माघी महोत्सवलाई उद्घाटन गर्ने परम्परा रहिआएको छ। तर, मंगलबार टुँडीखेलमा आयोजना हुने माघी महोत्सवका लागि प्रधानमन्त्री ओलीले समय नछुट्याएको आयोजकले जनाएको छ। ‘हामीले अन्तिम समयसम्म पनि प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने प्रयास गरेका थियौं। तर, प्रधानमन्त्री सचिवालयले उहाँ (प्रधानमन्त्री) नभ्याउने कुरा जानकारी गराउनुभयो। बाध्य भएर हामी विजय गच्छदारलाई निम्ता गर्ने निर्णयमा पुगेका हौं,’ मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले थारुवानसँग भने।
प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाउन नेकपा एमालेका थारू नेतहरू पनि सहजीकरण गरिरहेका थिए। पूर्वमन्त्रीसमेत रहेकी भगवती चौधरीले ओलीलाई प्रमुख अतिथि बनाउन मुख्य भूमिका खेलिरहेको आयोजकले जनाएको छ।
यतिमात्र होइन, गत मंसिरमा रुपन्देहीमा आयोजित थारू कल्याणकारिणी सभाको महाधिवेशनमा पनि ओली सहभागी भएका थिएनन्। थाकसको महाधिवेशनमा पनि प्रधानमन्त्री प्रमुख अतिथि रहने परम्परा रहँदै आएको छ। तर, वैदेशिक भ्रमणको तयारीलाई कारण देखाउँदै प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए। महाधिवेशनलाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए।
यसैबीच टुँडीखेलमा माघी महोत्सव सुरू भएको छ। सोमबार रक्तदान कार्यक्रम गरिनुका साथै ‘जिता मार्ना’ कार्यक्रम पनि सम्पन्न भएको आयोजकले जनाएको छ। मंगलबार १० बजेदेखि झाकी र्याली सुरू हुने आयोजकले जनाएको छ। वसन्तुपुरदेखि सुरू हुने झाकी र्याली टुँडीखेल परिक्रमा गरी आयोजनास्थलमा प्रवेशन गर्ने आयोजकले बताएको छ।
Facebook Comment