काठमाडौंमा नेपाल राना थारू युवा समाज स्थापना

राना थारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि ‘नेपाल राना थारु युवा समाज’को स्थापना भएको छ। यो संस्था औपचारिक रूपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा दर्ता भएको छ।

यस संस्थाले राना थारु समुदायको कला, संस्कृति, भाषा, इतिहास, साहित्य, दर्शन, रीतिरिवाज, चालचलन तथा भलमन्सा प्रथाको संरक्षण र प्रवर्द्धन गर्ने अध्यक्ष कमल रानाले बताए। उनले यस संस्थामार्फत ‘राना थारु समुदायको बहुआयामिक विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवश्यक समन्वय र सहकार्य गरिनेछ’ बताए।

अध्यक्ष रानाले सरकारबाट संस्था सूचीकृत भए पनि अधिकार प्राप्तिका लागि संस्थाले पहल गर्ने प्रतिबद्धता जनाए। उनले सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा राख्दै आगामी दिनमा एकजुट भएर विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्ने बताए।

त्यस्तै महासचिवमा अनिल रानाले संगठनको विकासका क्रममा अन्तर्विरोध र संघर्षलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। देशको राजधानीमा राना थारु समुदायको पहिलो संस्था दर्ता हुँदा अत्यन्त खुसी लागेको उनको भनाइ छ। ‘अब हामीले हाम्रो प्रगति गरेर समाजमा देखाउनुपर्ने समय आएको छ। कैलाली र कञ्चनपुरका बुद्धिजीवी युवा वर्गलाई पनि समेटेर अगाडि बढ्नेछौं,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *