सिकलसेलको सहज उपहारको कामना गर्दै सगरमाथा चढ्दैछन् ६५ वर्षीय सुन्दरकुमार चौधरी
दुर्गालाल केसी/कान्तिपुर साभार
तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ६५ वर्षीय सुन्दरकुमार चौधरीले सिंगो जीवन तराईमा बिताए । तराइको भूमिपुत्र मानिने थारु समुदायमा जन्मे–हुर्केका चौधरीलाई जीवनको उत्तरार्द्धमा हिमालसँग साइनो जोड्न मन लाग्यो । नेपालको तल्लो भागबाट माथिल्लो भागमा जोडिने रहरले उनलाई हिमाल आरोही बनाएको छ ।
उनी अहिले सगरमाथा आरोहणको तयारीमा छन् । जसको पूर्व तयारीका लागि उनले गत कात्तिक १५ गते ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् । यसै वर्ष ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु र अर्को वर्ष सगरमाथा चढ्ने तयारीमा रहेको उनले बताए ।
तराईलाई हिमालसँग जोड्न थारु समुदायबाट प्रतिनिधित्व गर्दै हिमाल चढ्ने योजना बनाएको उनले बताए । ‘म तराई र हिमाललाई जोड्न चाहन्छु । तराईमा जन्मे, हुर्केको थारुको छोरा हिमाल चढ्न खोज्दैछु,’ उनले भने,‘यसबाट हिमाल र तराईको सम्बन्ध जोड्न चाहन्छु । प्रायः गर्मी सहने तराइले हिमालको चिसो स्पर्श गर्न पाउनु पनि ठूलो उपलब्धि हो ।’
थारु समुदायमा ठूलो समस्याका रुपमा रहेको सिकलसेलको सहज उपचार र युवाहरुलाई लागूऔषध दुर्व्यसनबाट बचाउने सन्देश बोकेर हिमाल चढ्न थालेको उनले बताए । ‘सिकलसेलले थारु समुदायलाई सताएको छ । यसको उपचारमा जती पहल हुनुपर्थ्यो हुन सकेको छैन,’ उनले भने,‘म यो समस्यालाई सगरमाथाको चुचुरोसम्म पुगेर उजागर गर्न चाहन्छु । राज्यको ध्यानाकर्षण गराउन चाहन्छु ।’ युवाहरु कुलतमा लागेको देखेर पनि उनी साह्रै दुखी छन् ।
‘अहिले युवाहरुलाई दुर्व्यसनबाट बचाउन साह्रै गाह्रो छु । युवाहरु कुलत र दुर्व्यसनमा फसिरहेका छन्,’ उनले भने,‘यो कुराले मलाई धेरै नै छोएको छ । म युवाहरुलाई लागू औषधबाट बचाऔं भन्ने सन्देश बोकेर पनि हिमालको उचाइ चुम्ने तयारीमा छु ।’
श्रीमती अढाई वर्षदेखि पक्षघातको बिरामी छिन् । एक मात्र छोरा दुबईमा छन् । बुहारीले श्रीमतीको उपचार र घरधन्दा धानिरहेकी छिन् । नातीलाई गुरुकुलमा संस्कृत पढाइरहेका छन् । उनी आफ्नो कला संस्कृतिप्रति पनि उत्तीकै चिन्तित छन् । चौधरी आर्थिक अभावका बीच पनि उच्च मनोबलका आधारमा सगरमाथा चढ्ने आट गरिरहेका छन् । ‘मेरो आर्थिक अवस्था राम्रो नभए पनि सहयोग जुटाएर हिमाल चढ्ने जमर्को गरेको छु,’ उनले भने,‘हिमाल चढ्न जात, उमेर र भूगोलले केही फरक पार्दैन भन्ने सन्देश दिन चाहन्छु ।’
गाउँकै एक पर्यटक गाइडसँग अन्नपूर्ण र सगरमाथा बेस क्याम्प पुगेपछि उनलाई हिमाल चढ्ने रहर बढ्दै गएको हो । ‘जीवनभर तराईको समथल भागमा हुर्केको मान्छे, एक जना चिनेका गाइडसँग हिमालको नजिक पुगेपछि हिमाल चढ्न रहर लाग्यो,’ उनले भने,‘उमेरसाग मलाई डर लागेन । स्वास्थ्यका हिसावले म तन्दुरुस्त भएकाले हिमाल चढ्न सकिन्छ भन्ने परिक्षण समेत गरिसकेको छु ।’
संयुक्त थारु परिवारमा हुर्केका चौधरीले समूहमा काम गर्न सिकेका छन् । पुल्चोक ईञ्जिनियरिङ क्याम्पसबाट २०४० सालमा सिभिल ओभरसियर पास गरेपछि उनले बिभिन्न संघसंस्थामा लामो समय ओभरसियरको जागिर गरे । घरजग्गाको लम्बाई र उचाई नापेर जीवन बिताएका चौधरीले अब हिमालको उचाइ नाप्ने रहर गरेका छन् ।
उमेरले उनलाई हिमाल चढ्न कठिन छ भन्नेहरु छन् तर उनलाई उमेरले कुनै अबरोध नगर्ने आत्मबिश्वास छ । ‘मलाई कुनै पनि रोग छैन । थारु समुदायमा हुनुपर्ने तागत र आाटले मलाई उर्जा दिएको छ,’ उनले दृढता व्यक्त गरे ।
सफलताको शुभकामना
Best wishes 🙏