थारू पत्रकार संघ नेपालको अध्यक्षमा सन्तकुमार चौधरी निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी (चितवन) निर्विरोध निर्वाचित भएका छन्। संघको शनिबार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए।
त्यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताए। त्यस्तै संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भए। सदस्यमा भने मिना विश्वास निर्वाचित भएको निर्वाचन समितिका सदस्य मदन चौधरीले जानकारी दिए। थप सदस्य कार्यसमितिको बैठक बसेर मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले बताए।
संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ। अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद दिँदै नवनिर्वाचित अध्यक्ष चौधरीले संघको कामलाई चुस्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
संघको छैठौं महाधिवेशनको उदघाटन यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए। उदघाटनसत्रमा थारु आयोगका सदस्य सुबोधसिंह चौधरी, थारु कल्याणकारिणीसभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले शुभकामना मन्तव्य राखेका थिए।
त्यस्तै श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, फोनिज काठमाडौंका अध्यक्ष भीम लामा, थारु नेताहरु कानुनलाल चौधरी, चन्द्रप्रसाद चौधरी, फोनिजमा आवद्ध जातीय पत्रकार संघका अध्यक्षहरुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
Facebook Comment