नागरिक उन्मुक्तिसँग पार्टी एकीकरण गर्न जनमतले बनायो कार्यदल

सीके राउत नेतृत्वको जनमत पार्टीले रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताका लागि कार्यदल गठन गरेको छ। आइतबार र सोमबार महोत्तरीको बर्दिबासमा भएको केन्द्रीय समिति बैठकले पार्टीका तर्फबाट तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गरिएको प्रवक्ता डा. डा. शरदसिंह यादवले बताए। यी दुई पार्टीबीच एकताका लागि लामो समयदेखि छलफल चल्दै आएको छ। सोही छलफललाई निष्कर्षमा पुर्याउन जनमतका तर्फबाट कार्यदल बनाइएको हो।
यी दुई पार्टीबीच एकता भएमा एकीकृत दल प्रतिनिधिसभाको छैटौं ठूलो दल बन्नेछ। अहिले संसद्मा रहेका १३ वटा दलमध्ये जनमत आठौं र नागरिक उन्मुक्ति एघारौं ठूला दलहरू हुन्। प्रतिनिधिसभामा जनमतसँग ६ र नागरिक उन्मुक्तिसँग ४ सिट छ।
यी हुन् जनमतको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू :
१. कार्यप्रगति समीक्षा विषयमा छलफल हुँदा उपस्थित सहभागीहरूले आ-आफ्नो कार्यप्रगति विवरण पेश गर्नुका साथै हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य पूरा गरे-नगरेको मूल्यांकन पढेर सुनाइयो तथा सो मूल्यांकनको आधारमा नै आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राखे/नराख्ने वा अन्य जिम्मेवारी दिने निर्णय गरिनेछ।
२. संगठन विस्तार विषयमा छलफल हुँदा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो । प्रथम पटक ५ र त्यसपछि दुई गुणा संगठन विस्तार गर्नु पर्ने लक्ष्य पछिल्लो केन्द्रीय समितिहरूको बैठकमा लिइएकोमा सोलाई पूरा गर्ने निर्णय गरियो।
३. आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय गरियो।
४. सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथ-साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरियो।
५. प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐनकानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरियो।
६. देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तयार राख्ने निर्णय गरियो।
७. नेपाल सरकारले ल्याइरहेका राजनैतिक दल सम्बन्धी ऐन, दुई दलीय व्यवस्था लाग्ने किसिमको थ्रेसहोल्डसहितको प्रावधान, भूमि र नागरिकतासम्बन्धी अध्यादेशप्रति सचेत हुँदै प्रतिगामी कदमहरूलाई प्रखर रूपले विरोध गर्ने निर्णय गरियो।
८. तराई-मधेशको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नलीनालाको अवैध उल्खनन् रोक्नका लागि पार्टीले विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरियो।
९. सिरहा जिल्लाको रिंकु सदासहितको घटनाको संज्ञान लिँदै दलित, गरीब, पिछडिएका तथा निमुखा वर्गमाथि समाजमा भइरहेको निरन्तर दमन, शोषण र बलात्कारको विरुद्धमा जनमत पार्टी प्रखर तथा संगठित भएर लाग्ने निर्णय गरेको छ।
१०. समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ नै हुने भनेर त्यसको लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमहरूको आयोजना गरेर माहौल निर्माण गर्ने निर्णय गरियो।
११. बैठकमा व्यापक रूपमा उठेको मेचीदेखि महाकालीसम्म नै तराई-मधेशको मेरूदण्ड रहेको र राज्यबाट सँधै नै उपेक्षित रहेको हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्ने विषयलाई जोडदार रूपले उठाउने, साथै तराई-मधेश फास्ट-ट्रयाक सम्पन्न गर्ने तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा जोडदार लबी गर्ने निर्णय गरेको छ।
१२. यस केन्द्रीय समितिको बैठकले ‘आजीवन नेता कार्यकर्ता’को अवधारणा ल्याएकोमा सोको लागि वैचारिक, आर्थिक र सामाजिक पक्षबाट दीर्घकालीन रूपमा दीगो हुने गरी कार्यक्रम तथा योजनाहरू ल्याउनका लागि अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ। मिति २०८१/११/२५ गते महोत्तरी जिल्लाको बर्दिबासस्थित पावन मिथिला होटलमा जनमत पार्टीका अध्यक्ष मा. डा. सी. के. राउतको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पेश भएका प्रस्तावहरूमाथि छलफल गरी निर्णयहरू पारित गरेको छ।
१३: जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न तपसिल बमोजिमको कार्यदल गठन गर्ने निर्णय गरेको छ।
(क) मा. अब्दुल खान
(ख) डा. शरदसिंह यादव
(ग) श्री बालगोविन्द चौधरी
Facebook Comment