पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने काम बन्द गरौं : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जातको नाम बेचेर राजनीति गर्ने प्रवृत्तिबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस गढवाले आइतबार आयोजना गरेको तेस्रो गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले जात तथा पहिचानको नाममा राजनीति गरेर व्यक्तिगत फाइदा लिने र समाजलाई विभाजित गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका हुन्।

राष्ट्रिय हितलाई प्राथमिकता दिँदै समावेशी लोकतन्त्रलाई मजबुत बनाउन सबैलाई एकजुट हुन आह्वान गर्दै कार्यक्रमका प्रमुख अतिथि चौधरीले व्यक्तित्व, क्षमता र विचारको आधारमा राजनीति गर्नुपर्नेमा जोड दिए। उनले नेपाली कांग्रेसलाई अझ सशक्त, संगठित र जनमुखी बनाउन कार्यकर्ता, नेता तथा समर्थकहरूबीच एकता आवश्यक रहेको बताए।

कांग्रेसको सुदृढीकरणले मात्र मुलुकमा स्थायित्व, समावेशीता र समृद्धिको मार्ग प्रशस्त गर्ने नेता चौधरीको धारणा थियो।

सम्मेलनलाई सम्वोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेस बलियो बनाउने विषयमा नेता-कार्यकर्ता गम्भीर बन्नुपर्ने बताए। गुटउपगुटले पार्टीलाई कमजोर बनाउने भन्दै प्रदेश सभापति पुनले भने, ‘हामी कांग्रेस बलियो बनाउनुपर्छ भनेर हिँड्छौं, तर नतिजा किन शून्य आउँछ? यसबारेमा गम्भीर छलफल गरेर संगठन निर्माणमा अघि बढ्न आवश्यक छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *