स्ववियु निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ‘निल’, देउखुरी क्याम्पसमा नाउपा छाडेका मिलनको टिमले प्यानल नै जित्यो

दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीको प्यानल निर्वाचित भएको छ। राजनीति दलका संगठनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थी परिवारको तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चौधरीले १८९ मतान्तरले निर्वाचित भएका हुन्। उनले ४४६ मत प्राप्त गरे। उनको प्यानलका सबै उम्मेदवार निर्वाचित भएका हुन्।
मिनल चौधरी र उनको प्यानलाई नागरिक उन्मुक्ति पार्टीका पूर्व वरिष्ठ नेतासमेत रहेका सुरेन्द्र चौधरीले समर्थन गरेका थिए। गत संसदीय निर्वाचनमा दाङ क्षेत्र नं १ सुरेन्द्र चौधरी उम्मेदवार रहँदा मिलनको टिमले मुख्य भूमिका निर्वाह गरेका थिए। स्ववियु सभापतिमा निर्वाचित भएपछि नेता चौधरीले मिलनको टिमलाई बधाई दिएका छन्।
‘दाङ देउखुरी क्षेत्र-१ मा गत संसदीय निर्वाचनमा मेरो प्रचार प्रसारको युवाहरूको कमाण्डर भएर अग्रभूमिकामा रहेका, निर्वाचनपछि मसँगै नागरिक उन्मुक्ति पार्टीबाट निष्कृय भएर स्वतन्त्र रूपले राजनीतिमा सक्रिय मिल चौधरीको टोलीलाई बधाई,’ उनले भनेका छन्।
अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गरे। शम्भुलाई अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी पार्टीको अनेरास्ववियुको समर्थन थियो। नेविसंघका राजन भुसालले २४२ मत प्राप्त गरे। सचिवमा अनुकुमारी यादव ३९९, कोषाध्यक्षमा आयुष्मा चौधरी ३६९, सदस्यमा लक्ष्मीकुमारी यादव ३८९, सरिता पुन ४०८, सुदिप चौधरी ३९९, आशिका चौधरी ४०५, अनिलनाथ योगी ४००, कामना चौधरी ३९३, प्रविन चौधरी ३८० मत प्राप्तगरि निर्वाचित भएको निर्वाचन मण्डलका प्रवक्ता भेषराज पोख्रेलले जानकारी दिए।
यसैबीच स्ववियु निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ‘निल’ भएको छ। पछिल्लो मत परिणामअनुसार नागरिक उन्मुक्ति पार्टीले कुनै पनि क्याम्पसमा प्रभुत्व जमाउन सकेन। नागरिक उन्मुक्तिको आधार इलाका बर्दिया र कैलालीमा पनि नाउपा निल बनेको हो।
Facebook Comment