विदा भए विष्णु चौधरी, थारू आयोगको अध्यक्ष बन्न एमाले-कांग्रेसमा तछाड मछाड

थारू आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी बिहीबार विदा भएका छन्। ६ वर्षीय कार्यकाल सकिएपछि बिहीबार उनी विदा भएका हुन्। कांग्रेस-माओवादी नेतृत्वको तत्कालीन सरकारले चौधरीलाई २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त गरेको थियो। त्यसयता उनी थारू समुदाय केन्द्रित मुद्दा सम्बोधनका लागि सरकारलाई सिफारिस गर्दै आएका थिए। पूर्व संविधानसभा सदस्यसमेत रहेका उनी माओवादीको कोटाबाट अध्यक्ष बनेका थिए।
उनले आफूले सोचेजस्तो काम गर्न नसके पनि थारूका माग र मुद्दा सम्बोधनका लागि सरकारलाई सिफारिस गर्न सकेको बताए। उनले समावेशीताका सबालमा आफूले बढी जोड दिन खोजेको बताए। निजामती सेवामा संविधानले दिएको अधिकार बमोजिम थारूहरुलाई आरक्षणको व्यवस्था दिलाउनका लागि आफूले सकेको लबिङ र सिफारिस गर्दै आएको उनले बताए। ‘केही हदसम्म प्रदेशमा त्यसको सुनुवाई भएको छ। तर संघमा अझै थारु आरक्षणको सुनिश्चितता छैन,’ उनले भने।
थारु आयोगको अध्यक्ष अब को बन्ने भन्ने चर्चा चल्न थालेको छ। कांग्रेस र एमालेभित्रका थारूहरू आयोगको अध्यक्ष बन्न तीव्र लबिङ गरिरहेको बताइएको छ। ‘अहिल्यै भागबण्डा भइसकेको अवस्था छैन। तर, कांग्रेस र एमालेका थारु नेताहरू बालुवाटार र बुढानिलकण्ठमा तीव्र लबिङ गरिरहेका छन्,’ स्रोतले थारुवानसँग भने।
यसैबीच आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाएका छन्। वरिष्ठ सदस्यको हैसियतले उनलाई कार्यवाहक जिम्मेवारी दिइएको हो।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका सुवोधसिंहले आज पदभार ग्रहण गरे। उनी २०७७ साल माघ २१ गते आयोगको सदस्यमा नियुक्त हुनु भएका थिए। आयोगको अर्को अध्यक्ष नियुक्त नहुँदासम्म आफूलाई कार्यवाहकको जिम्मेवारी दिइएको उनले बताए।
Facebook Comment