राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सिइओमा प्राध्यापक चौधरीको दाबेदारी

पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह-प्राध्यापक जितेन्द्र चौधरी राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को अन्तिम सूचीमा परेका छन्। आवेदन दिएका १२ जनामध्ये उनी अन्तिम सूचीमा पर्न सफल भएका हुन्। चौधरीसँगै केदारराज सिलवाल, महेन्द्र पौडेल, रामजी भण्डारी, रोहिणी पौडेल, रोशन अग्रवाल र सागर श्रेष्ठ अन्तिम सूचीमा छन्।

विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरू अन्मित छनौटमा परे पनि चौधरी विद्युत् र ट्रान्समिसन लाइनका विज्ञ हुन्। उनले यो क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएका छन्।

विद्युत् इन्जिनियरिङमा स्नातक र पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर गरेका चौधरीले विद्यार्थीकालमै नवीकरणीय ऊर्जाका स्रोतहरू प्रयोग गरी अमेरिकाको विद्युत प्रसारण प्रणालीको सुरक्षा र स्थिरतासम्बन्धी गहन अनुसन्धान गरेका थिए। उनकै अगुवाईमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विद्युत् इलेक्ट्रोनिक्स तथा ड्राइभ्स इन्जिनियरिङमा स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेको छ। यो कार्यक्रम सौर्य (सोलार), वायु (विन्ड) र हाइड्रोजन इन्धनबाट उत्पादित ऊर्जालाई राष्ट्रिय ग्रिडमा समाहित गर्ने प्रविधि विकासमा केन्द्रित छ।

विद्युत् सवारीसाधन, ब्याट्री प्रविधि तथा अनुसन्धानमा व्यवसायिक दक्षता विकास गराउने लक्ष्य उनको छ। यस कार्यक्रमले नेपाल र अन्तर्राष्ट्रिय रूपमा रोजगारको व्यापक सम्भावना बोक्ने उनको अनुमान छ। विद्युत् क्षेत्रमा नवीनता ल्याउने उनको सोच छ।

उनले विभिन्न निकायमा आफ्नो प्रशासनिक र व्यवस्थापकीय कुशलता प्रदर्शन गरेका छन्। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल क्यापस, विद्युत् क्षेत्रका विभिन्न परियोजनामा आफ्नो क्षमता प्रदर्शन गरेका छन्।

नेपालमा विद्युत उत्पादनको ठूलो सम्भावना रहेको मानिन्छ। नेपालमा हजरौं मेगावाट क्षमताका विद्युत उत्पादन हुनसक्ने विभिन्न अध्ययनले पनि देखाएको छ। त्यसलाई नेपालका विभिन्न निकायले विभिन्न तरिकाले आफ्नो कामहरू पनि गर्दै आएको छ। सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारण लाइनका निम्ति राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको स्थापना गरेको छ।

प्राध्यापक चौधरीको प्रशासनिक तथा व्यवस्थापकीय कुशलता, विद्युत् क्षेत्रको लामो अनुभव, यस क्षेत्रमा गरिएका उनको नवीन प्रयास, उनले गरेका अध्ययन अनुसन्धानले पनि यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि उनको योग्यताले पुष्टि गर्छ।

को हुन् प्राध्यापक चौधरी?
चौधरीको जन्म रौतहट फतुव-विजयापुर-११ मा भएको हो। उनले रौतहटकै माध्यमिक विद्यालय दुधियवाबाट एसएलसी पास गरे। कक्षा १ देखि नै प्रथम स्थान हासिल गर्ने उनले विसं २०५० को एसएलसी बोर्डमा जिल्लाबाट दोस्रो र्‍याङ्क ल्याएका थिए। त्यसपछि उनले जनकपुरस्थित आरआरएम कलेजबाट आइएस्सी र पुल्चोक इन्जिनियरिङबाट विद्युत् इन्जनियरिमा स्नातक गरे। चौधरीले भारतको आइआइटी खडगपुरबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर सकेका थिए। त्यसबेला उनले नवीकरणीय ऊर्जाको स्रोतहरु प्रयोग गरी अमेरिकाको विद्युत प्रसारण प्रणालीको सुरक्षा र स्थरतासम्बन्धी गहन अुसन्धान गरेका थिए।

डिग्रीसम्म अध्ययन सकेर चौधरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्युत् आपूर्ति सेवा व्यवस्थापनको रूपमा ५ वर्ष काम गरे। त्यसपछि उनले परियोजना इन्जिनियर तथा परामर्शदाताका रूपमा काम गरे। विद्युत् इन्जिनियरको रूपमा पनि उनले विभिन्न परियोजनामा काम गरे। त्यसपछि उनी अध्यापनतिर आएका थिए।

उनले धरानस्थित पूर्वाञ्चल क्याम्पसमामा विद्युत् इन्जिनियरिङ विभागको प्रमुख भएर काम गरे। दुई कार्यकाल विभागीय प्रमुख बनेका उनले सोही क्याम्पसको प्रमुख पनि बने। विसं २०७६ देखि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सह-प्राध्यापको रूपमा अध्यापन गराउँदै आएका छन्। क्याम्पसमा रहँदा उनले प्रशासनिक र व्यवस्थापकीय पाटोको अनुभव संगालेका थिए।

पूर्वाञ्चल क्याम्पस, धरानको प्रमुख रहँदा आर्थिक संकटका बाबजुद उनले नयाँ स्नातक तहका इन्जिनियरिङ कार्यक्रम सुरु गरी ऐतिहासिक पहल गरेका थिए। उनको कुशल नेतृत्वका कारण क्याम्पसलाई स्थायित्वमात्र मिलेन, चार वर्षभित्रै नयाँ विद्यार्थी ब्याच उत्पादन गर्न सफल पनि भयो। उनी क्याम्पस प्रमुख रहँदा दुई सय बढी प्राध्यापक र दुई हजार बढी विद्यर्थी अध्ययनरत थिए। त्यसबेला उनले नयाँ कृषि भवन, अत्याधुनिक प्रविधिसहितको कक्षा कोठा र अनुसन्धान प्रयोगशालाहरूको निर्माण गरेका थिए। विश्व बैंक तथा विश्वविद्यालय अनुदान आयोगजस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी क्याम्पसलाई आत्मनिर्भर बनाउन योगदान गरेका थिए।

उनले नेपालको विद्युत् क्षेत्रमा नयाँ-नयाँ अनुसन्धानहरू पनि गरेका छन्। उनले नेपालको विद्युत् प्रसारण ग्रिड प्रणालीमा केन्द्रित अनुसन्धानहरू प्रकाशित गरेका छन्। इन्डक्सन कुकिङ प्रविधिले नेपालको विद्युत् ग्रिडमा पार्ने प्रभावसम्बन्धी विस्तृत अनुसन्धानसमेत उनले गरेका छन्।

उनले धौवादी आइरन कम्पनी लिमिटेडको विस्तृत परियोजना प्रतिवेदन समीक्षाका लागि मुख्य सदस्यको रूपमा काम गरेका छन् भने नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणद्वारा गठन गरिएका ट्रान्सफर्मर, ऊर्जा मिटर तथा प्रसारण लाइन अध्ययन, परीक्षण तथा निरीक्षण समितिका सदस्यको रूपमा पनि काम गरेका छन्।

चौधरीले नेपाल, भारत र चीनमा आयोजित विद्युत् ग्रिड प्रविधि, प्रशासन तथा व्यवस्थापनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला, तालिम तथा निरीक्षणहरूमा सहभागितासमेत जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *