ठाकुरराम क्याम्पसको स्ववियु सचिवमा मन्दिरा चौधरी निर्वाचित

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत पाए। सभापति पदमा १४ जना प्रतिस्पर्धामा थिए।
सभापतिमा निर्वाचित यादव कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकट हुन्। यादवलाई कांग्रेसले नेविसंघको उम्मेदवार नबनाएपछि उनले नेपाल विद्यार्थी समूहबाट प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए। यादवलाई पर्साका शेखर कोइराला पक्षका नेताहरू श्याम पटेल, सुरेन्द्र चौधरी, वैकुण्ठ श्रीवास्तव, अजय दिवेदीका साथै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी, विकेश पटेल लगायतका नेताहरूले समर्थन गरेका थिए।
यस्तै स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मतका साथ विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दीपक पटेलले ५९९ र नेविसंघका रोहित सिंहले ५४३ मत ल्याए।
त्यस्तै कोषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दीपक पटेलले ६९० मत ल्याए। १६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कूल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेको थियो। चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भएकोमा एउटा मतपेटिकाको सिल नम्बर फरक परेपछि विवाद भई चैत ७ गतेदेखि मतगणना रोकिएकोमा बुधबार अपरान्हदेखि फेरि सुचारु भएको थियो।
Facebook Comment