राजावादीले चुरिफुरी नदेखाए हुन्छ : मन्त्री राजकुमार लेखी

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्। लहानमा बिहीबार आयोजित पत्रकारिताको आचारसंहितासम्बन्धी गोष्ठीमा मन्त्री लेखीले यस्तो बताएका हुन्।
अहिलेको व्यवस्था उत्कृष्ट रहेको भन्ने कुराको प्रमाण जनताले निर्वाचनमा खसालेको मत नै भएको उनको भनाइ छ। ‘अहिलेको व्यवस्था नै उत्कृष्ट व्यवस्था हो,’ उनले भने, ‘राजतन्त्रको एजेन्डा बोकेर राप्रपाहरू राजनीतिमै छन्, तर ५-६ प्रतिशत नागरिकले पत्याएका छैनन्, त्यसैले चुरिफुरी नदेखाए हुन्छ।’
मुलुकमा निरंकुश राजतन्त्रका बेला राजाका अनुयायीहरूले जथाभाबी गर्न पाएको र अहिले नपाउँदा उनीहरूले नागरिक असन्तुष्टिको आडमा राजतन्त्रको हल्ला चलाएको उनको भनाइ छ। जनताले आफैं बलिदानपूर्ण संघर्षबाट संघीयता, समावेशीता, समानुपातिक निर्वाचन प्रणालीलगायतका उपलब्धि ल्याएको र यसको विपक्षमा कोही नभएको उनले बताए।
‘मुलुकमा कुनै बेला एउटा वंशले राज गर्थे, अहिले जनताका छोराछोरीले देश हाँक्न पाएका छन्,’ उनले भने, ‘यो व्यवस्था र संविधानले मुलुकका सबै नागरिकको सहभागिता सुनिश्चित गरेको छ, त्यसैले यो व्यवस्थाको विपक्षमा कोही पनि छैनन्।’
तर, मुलुकमा गडबडी र बेथिति पनि देखा परेकाले दलहरू सच्चिँदै अगाडी बढ्न जरुरी रहेको लेखीले जिकिर गरे। उनले गडबडी र बेथितिका बारेमा निर्धक्क भएर पत्रकारले लेख्नुपर्ने र यसले व्यवस्थालाई थप मजबुत बनाउने बताए।
Facebook Comment