बाघ, गैंडाको आश्रयस्थलमा थारू आस्थाको केन्द्र

रमेशकुमार पौडेल/कान्तिपुर साभार
संरक्षणका लागि विश्वमा कहलिएको चितवन राष्ट्रिय निकुञ्जभित्रै आदिवासी थारु समुदायको आराधनास्थल पनि छ । चितवनका आदिवासी थारु समुदायले सदियौंदेखि चैते दसैंका बेला निकुञ्ज मुख्यालय कसरा आडैको जंगलमा विक्रम बाबाको पूजा गर्दै आएका छन् । यो बेला १५ दिन चल्ने पूजामा लाखौं भक्त आउँछन् । थारु समुदायमा सन्तान प्राप्त हुन्छन् भन्ने विश्वासले पूजा गर्ने विक्रम बाबामा अचेल सबै समुदाय पुग्छन् ।
यो पटक विक्रम बाबाको पूजा शनिबारदेखि सुरु भएको हो । पूर्वी नवलपरासीको रजहर प्रिपहरका उत्तरमान गुरौ बिहानै कसरा पुगेका थिए । उनीसँगै ठगाई गुरौ, जल्लु महतो, बलराम गुरौ र बाबुराम गुरौ पनि विक्रम बाबाको पूजाका लागि जुटेका थिए ।
‘औंसीको दिन सुरुमा गुरौहरुले विक्रम बाबालाई जगाउने काम हुन्छ । त्यसपछि पूर्णिमासम्म पूजा चल्छ,’ थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । उत्तरमानले गत वर्ष चैते दसैंमा विक्रमबाबा आएर छोराबुहारीलाई छिट्टै सन्तान प्राप्त होस् भन्ने भाकल गरेका थिए । यो वर्ष नाति जन्मेको उनले बताए । त्यसैले भाकल गरे अनुसार बोका चढाउन उनी फेरि सोमबार विक्रम बाबा आउने योजना बनाएका छन् । विक्रम बाबामा बोकाको बली दिने र परेवा उडाइने ठगाई गुरौले बताए । सुरुको पूजाका दिन बली दिन रोक लगाइएको छ ।
राप्ती नगरपालिका–६ भण्डारा पडरियाका राजिव चौधरी प्राय विक्रम बाबा आउँछन् । उनी थारु कल्याणकारिणी सभा चितवनका कार्यसमिति सदस्य पनि हुन् । विक्रम बाबासँग आफ्नो गहिरो आस्था र विश्वास पनि जोडिएको राजिव बताउँछन् । उनका चार दाजुभाइ र एक दिदी छन् । ‘पहिला जन्मेका दुई सन्तान नजोगिएपछि बाबाआमाले विक्रम बाबामा भाकल गर्नुभएछ । त्यसपछि दाइ र हामी जन्मियौं,’ उनले भने ।
चितवनमा जहिलेदेखि थारु छन् त्योबेलादेखि नै विक्रम बाबाको पूजा हुँदै आएको राप्ती–६ का वडाध्यक्षसमेत रहेका जल्लु महतोले सुनाए । गुरौसमेत रहेका उनी विक्रम बाबा प्राय आउँछन् । सन्तान माग्ने गाउँलेहरु एक जना गुरौलाई पनि साथमा लिएर पूजा गर्न आउँछन् ।
पहिला सेता कपडा लगाएर, कपाल नकोरी, टाढा टाढाबाट पैदलै आउने गरेको उनले सम्झे । तर अहिले यो तहको निष्ठा नदेखिए पनि सन्तान माग्दै पूजा गर्न आउने क्रम घटेको छैन । सन्तान भएपछि भाकल अनुसार परेवा, बोका चढाउन आउने र बच्चाको कपाल पनि खौरेर चढाउने गरिन्छ ।
विक्रम बाबासँग मागेपछि सन्तान जन्मेमा छोरा भए विक्रम र छोरी भए विक्रमी नाम राख्ने गरिन्छ । ‘कसैले यसरी जन्मेका सन्तानलाई छोरा भए यसरमवा र छोरी भए यसरमिया पनि भन्ने गर्छन्,’ थारु कल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले भने ।
विक्रम बाबामा कुनै मन्दिर या स्थायी संरचना छैन । एउटा पुरानो सालको रुख तल विक्रम बाबालाई सम्झेर पूजा हुन्छ । ‘विक्रम बाबा शक्तिशाली हुनुहुन्छ भन्ने विश्वास छ । उनका सात दिदीबहिनी थिए । उनीहरुले कसारामा ल्याएर छाडेको भन्ने मान्यता छ । यससँग जाडिएका धेरै किंवदन्ती छन् । धन मागे धन, सन्तान मागे सन्तान र सुरक्षा मागे पनि पाइन्छ भन्ने छ,’ ठगाई गुरौले भने ।
चितवन सदरमुकाम भरतपुरबाट १८ किलोमिटर पश्चिम दक्षिणमा जगतपुर छ । जगतपुरबाट चितवन निकुञ्जको दुई किलोमिटर हिँडेपछि विक्रम बाबा पूजास्थल पुगिन्छ । अरु बेला यहाँ जान पाइँदैन । चैते दसैंका बेला १५ दिन पूजाका लागि सुरक्षा प्रबन्धका साथ यहाँ भक्तहरु जाने गर्छन् ।
थारु समुदायका मात्रै नभएर देशभरबाट र भारतबाट पनि पूजाका लागि आउने गर्छन् । ‘गत वर्ष साढे ६ लाख जना आएर पूजा गरेका थिए । यो पटक यो संख्या अझै बढ्न सक्छ,’ भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दिपक दवाडीले भने ।
चितवन निकुञ्ज विश्वमा दुर्लभ पाटे बाघ, ठूलो एकसिंगे गैंडा जस्ता दुर्लभ वन्यजन्तुको मुख्य बासस्थल हो । यी जनावर हेर्न देशविदेशबाट हजारौं पर्यटक चितवन आउँछन् । यही निकुञ्जभित्र रहेको विक्रम बाबा पनि प्रख्यात धार्मिक रुपमा उदाउँदै छ । कसरा नजिक रहेको चितवन निकुञ्जको पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतो पहिला पहिला थारु मात्रै पूजाका लागि आउने र सामान्य चहलपहल हुने विक्रम बाबामा अहिले लाखौं आउँदा अचम्म मान्छन् । ‘वन्यजन्तु पर्यटनका लागि कहलिएको ठाउँमा धर्म मन्नेहरु पनि लाखौं आएका छन् । यो धार्मिक पर्यटनको पनि केन्द्र बन्दै छ,’ महतोले भने ।
छोटो समयमा धेरै मान्छेको चहलपहल हुँदा संरक्षित क्षेत्रमा जोखिम पनि बढ्छ । विगतका वर्षमा विक्रम बाबा पूजाकै समय पारेर गैंडाको चोरीसिकारी हुने गरेको उदाहरण पनि छ । यस्तै, वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने खतरा पनि हुन्छ । विगतमा जंगली भाले हात्ती ‘ध्रुवे’ नै पूजास्थल वरपर बसेको थियो । यी अवस्थालाई ख्याल राख्दै सुरक्षा प्रबन्ध मिलाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताए ।
Facebook Comment