संकटमा थारू समुदायको मौलिक ‘छोक्रा’ नाच

सन्तोष दहित/दाङ
थारू समुदायको बिहे हुने बेला होस् या दुलही ‘पठलरी’ लाई पठाउन आएको बेला होस् या कुनै नयाँ कामको थालनी किन नहोस्, त्यसको अवसर पारेर थारू समुदायमा नाचिने चर्चित नाच हो ‘छोक्रा नाच’। तर अचेल थारू समुदायमा छोक्रा नाच लोप हुँदै गएको छ।
पहिला पहिला थारू गाउँमा कसैको घरमा दुलही ‘पठलरी’ पठाउन आउने खबर गाँउमा हल्ला मात्र हुन साथ साँझ पख पठलरी आउने घरमा गाउँका सवै युवायुवतीहरू पठलरी नआउँदै छोक्रा नाच सुरु गरिन्थ्यो। तर अचेत छोक्रा नाच नाच्ने ठाउँमा डिजे बज्छ, या त सुनसान हुन्छ, ख्याल बगालका अध्यक्ष सवि थारूले बताए। “पहिला पठलरीलाई स्वागतका लागि आआफ्नो गाउँको छोक्रा नाच देखाउने चलन थियो”, उनले भने, “तर अचेल त्यो छैन, अहिले लगभग थारू समुदायमा छोक्रा नाच लोप भएको अवस्था छ।”
उनका अनुसार थारू मौलिक संस्कृतिमा आधारित छोक्रा नाच थारू समुदायमा परम्परागत देखि नाचिँदै आएको एक मौलिक संस्कृति हो। “छोक्रा नाचको आफ्नै विशेष्ता, श्रेष्ठता संस्कृति छ”, अध्यक्ष थारूले भने, “यो नाचमा युवा र युवतिको बिचमा दोहोरी हुन्छ, माया प्रितीका शब्दसँगै आफ्नो लोक भाकामा गाउँबस्तिका घटना परिघटनालाई गीतमा उजागर गरिन्छ।”
थारू समुदायको मौलिक छोक्रा नाच लोप भइरहेको चिन्ता व्यक्त गर्दै उहाँले यो नाचलाई युवा पुस्ताले संरक्षण र प्रवर्द्धनका लाग्नुपर्ने उनले बताए। “हिजोआज छोक्रा नाच नाच्ने चलन हराएको छ”, उनले भने, “यसलाई पुनस्थापित गर्न अब थारू गाउँमा हुने बिहे तथा अन्य अवसर पारेर भएपछि छोक्रा नाचलाई जोगाउनतिर लाग्नुपर्छ।”
यस्तै घोराही १५ का जगवीर चौधरीले पनि थारू समुदायको छोक्रा नाच लोप भइरहेको बताए। “पहिलो फागुनदेखि वैशाखसम्म छोक्रा नाच खुबै नाचिन्थ्यो”, उनले भने, “थारू समुदायको विहेको लगन फागुनदेखि वैशाखसम्म हुने भएकोले त्यसबेला छोक्रा नाच नाचिन्थ्यो, त्यस्तै नयाँ घर बनाएर नयाँ घरमा प्रवेश गर्दापनि छोक्रा नाच नाच्न चलन थियो, तर अचेत छैन ।”
अहिलेको युवाहरू आधुनिक नाचतिर चासो दिएपछि छोक्रा नाच लोप भएको उनले बताए। “पछिल्लो समयमा थारू युवाहरू पश्चिमी संस्कृतितिर आकर्षित हुँदै गर्दा उनीहरू आफ्नो मौलिक संस्कृति सङ्कटमा परेको थाहा पाएका छैनन् तर भोलि त्यही आफ्नै मौलिक संस्कृतिको अभाव हुने छ”, उनले भने, “छोक्रा नाचको संरक्षणका लागि अब पुस्ता हस्ताणतरण आवश्यक छ ।”
‘यो नाच नाच्न र गाउन जान्नेहरूले युवापुस्तामा आकर्षित गरेर युवा पुस्तामा हस्ताणरण गरिनुपर्छ,’ उनले भने, ‘थारू समुदायको जातिय पहिचानसँगै मौलिक संस्कृतिको संरक्षण र प्रवर्धनका लागि छोक्रा नाचको संरक्षण अवश्यक छ।’ छोक्रा नाचमा थारू समुदायको पहिचान झल्काउने मात्र होइन्, सिङ्गो थारू समुदायको संस्कृतिलाई दर्शाउने भएकोले यसको संरक्षण र प्रवर्धनका लागि थारू समुदाय जागरुक हुने पर्ने चौधरीको भनाइ थियो।
Facebook Comment