गोब्री थारू, जसले चितुवाको मुखबाट नाति खोसिन्

रामप्रसाद चौहान/कान्तिपुरबाट साभार
गुलरिया नगरपालिका-५ बालापुरका ४९ वर्षीय भरतमणि थारू र उनकी पत्नी ४९ वर्षीया गोब्री बुधबार दिउँसो दुई नातिलाई लिएर गुलरिया नगरपालिका-४ तुलसीपुरस्थित खेतमा पानी लगाउन पुगेका थिए। दुई नातिलाई खटियामा राखेर भरतमणि मासमा पानी लगाउँदै थिए।

गोब्री खेतमा उम्रेको साग टिपेर केलाउँदै थिइन्। नजिकै खटियामा दुई नाति ९ वर्षीय अर्पण र ७ वर्षीय सिर्जन खेलिरहेका थिए। एक्कासि चितुवाले बालक सिर्जनलाई झम्टियो र बोकेर मकैबारीतिर लग्यो। गोब्री चिच्याउँदै, हारगुहार गर्दै चितुवाको पछिपछि दौडिइन्। मानिसले कराउँदै लखेटेकाले चितुवा डरायो र बालक सिर्जनलाई छाड्यो।

चितुवाबाट बचाएको नातिलाई काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन्। मुखमा परेको ‘सिकार’ उम्किएकाले नजिकै चितुवा जोडजोडले कराइरहेको थियो। स्थिति त्रासपूर्ण थियो। अब के गर्ने? बालखा नातिहरू, बेहोस पति र स्वयं आफूलाई चितुवाबाट जोगाउनुपर्ने अवस्था थियो।

गोब्रीले फेरि आँट जुटाइन्। घाइते नातिलाई बेहोस पतिसँगै छाडिन् र चिच्याउँदै हारगुहार माग्दै करिब दुई किलोमिटर पर रहेको घरमा पुगिन्। त्यस घरका मानिसलाई बोलाएर ल्याइन्। आफूसहित सबैलाई जोगाइन्।

घाइते बालकको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्रासपूर्ण परिस्थितिको सामना गर्नुपरेकाले, कराएकाले र दौडिएकाले गोब्रीलाई ज्वरो आएको छ। भन्छिन्, ‘साहस जुटाएर नातिलाई चितुवाबाट छुटाएँ।’

दुई वर्षअघि साँझमा गोठबाट चितुवाले लाग्दै गरेको पाठोलाई पनि उनले यसैगरी बचाएकी थिइन्। ‘त्यही आँटले चितुवाको मुखबाट नातिलाई पनि छुटाउन बल मिल्यो,’ उनी भन्छिन्, ‘राति सुत्दासमेत घटना झझल्कोमा आइरहन्छ।’ चिकित्सकका अनुसार घाइते बालकको घाँटीमा चोट लागेको छ।

बिहीबार शल्यक्रिया गरिएको नातिले शुक्रबार बिहानदेखि खान थालेको भरतमणिले बताए। ‘श्रीमतीको आँटले चितुवाको मुखबाट नाति बचाउन सक्यौं, म दमको रोगी सँगै भएर पनि बुढीलाई साथ दिन सकिनँ,’ उनी भन्छन्, ‘खेतीको कमाइबाट जम्मा गरी राखेको ६० हजार नातिको उपचार नसकिँदै सकियो, अब कुनै जुगाड छैन, सहयोगका लागि वडा कार्यालयमा जाँदा पनि सुनुवाइ भएन।’

बालकको उपचारका लागि तत्काल ३५ हजार रुपैयाँ दिएको डिभिजन वन कार्यालय प्रमुख विजयराज सुवेदी बताउँछन्। ‘बिल ल्याएपछि ५ लाखसम्म उपचार खर्च दिन मिल्ने प्रावधान छ,’ उनी भन्छन्। स्थानीय लालबहादुर थारूका अनुसार सिर्जनलाई आक्रमण गरेको चितुवाले त्यसै साँझ गाउँको एउटा कुकुर मारेको थियो। चितुवाको आक्रमण बढ्दै गएकाले हिँडडुल गर्नै डर भएको उनले सुनाए। ‘वन्यजन्तुलाई मान्छेले केही गर्‍यो भने कडा कारबाही हुन्छ तर वन्यजन्तुले मानवीय क्षति गरे सहेर बस्नुपर्छ,’ उनको गुनासो छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *