सरकारविरुद्ध निरन्तर प्रदर्शन, आजपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

पछिल्लो समय सरकारविरुद्ध निरन्तर प्रदर्शन हुन थालेका छन्। चैत १५ पछि राजावादीले कुनै न कुनैरूपमा निरन्तर प्रदर्शन गरिरहेका छन्। त्यसमा राप्रपाले पनि साथ दिइरहेको छ।

त्यस्तै कुलमान घिसिङको बर्खास्तीलाई लिएर पनि उनका समर्थकहरुले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। कुलमानका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग्दै आएका छन्। त्यतिमात्र होइन, बानेश्वरमा देशभरिका शिक्षकहरूले पनि प्रदर्शन गरिरहेका छन्। निर्णायक भनिएको शिक्षकहरूको प्रदर्शनले दैनिकरूपमा त्यस क्षेत्रक ट्राफिक अस्तव्यस्त बनिरहेको छ। शिक्षकहरूले गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएका छन्।

यसैबीच सांसद प्रभु साह नेतृत्वको आम जनताले पार्टीले आइतबार जनआन्दोलन दिवसको अवसरमा ‘तेस्रो जनआन्दोलन’नामक सभाको आयोजना गर्‍यो। भृकुटिमण्डपमा भएको प्रदर्शनमा हजारौं कवाड व्यवासयीहरू सहभागी थिए। उनीहरूले सरकार र महानगरले आफूहरूमाथि धरपकड गरिएको भन्दै विरोध गरे। उनीहरूले प्रधानमन्त्री ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा समेत मागे।

आम जनता पार्टीका अध्यक्षसमेत रहेका साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको आरोप लगाए। उनले नेताहरूले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाइ हुने बताए।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने। उनले नेताहरुलाई राजा बनाउनका लागि नेपाली जनता नलडेको भन्दै साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरूले बेचेर खाएको गम्भीर आरोप लगाए।

साहले देशमा नेताहरूको आसेपासे मालामाल भएको, तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे। उनले भने, ‘हामी हेर्न सक्छौँ, लुट र भ्रष्टाचार बढेको छ। जनता लाचार बन्नुपरेको छ। नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन्। देश उजाड छ, जनता निराश छन्। नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन्।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने परिस्थिति आएको बताए। साहले आफूहरूले थालेको आन्दोलनको वेगलाई अहिलेका नेताले रोक्न नसक्ने चेतावनी दिए। ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन। हावाको बहावलाई कसैले रोक्न सकेको छैन। त्यसैले याद राख-तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौ,’ उनले भने, ‘हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ।’

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र साहको ज्यादतीको पनि विरोध गरे। उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे। काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए। जनआन्दोलन दिवसको अवसरमा ‘दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध’ आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको विरोध प्रदर्शनसमेत भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *