सीकेले स्वीकार्यो रेशमलाई पहिलो वरीयता, वैशाख १५ गते एकता घोषणा

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो । केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने भएको छ ।
कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने जानकारी दिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ । मस्यौदा समितिले चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिएको छ । वैशाख दोस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ मा घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताए ।
एकताका लागि मधुवनको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्नुअघि जनमतका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच गुलरियामा छलफल भएको थियो । पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने चौधरीले बताए ।
जनमत अध्यक्ष राउतले राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व आफ्नो पार्टीले लिने जानकारी दिए । एकीकरणका लागि दुवै पार्टीबीच कुनै माग नभएको उल्लेख गर्दै अध्यक्ष राउतले भने, ‘केही कुरामा समझदारी नभए दुवै पार्टीले अडान छाड्ने छौं । एकीकरणको मुद्दा छिट्टै टुंगाउनेछौं । पहिचानको मुद्दा दुवै पार्टीको हो ।’ मस्यौदा समितिको बैठकमा दुवै पार्टीका उच्चस्तरीय नेता सहभागी छन् ।
नेताहरूले आगामी निर्वाचनमा तराई/मधेशमा पहिचानवादी निर्णायक शक्ति बन्ने लक्ष्यका साथ पार्टी एकता हुने बताएका छन् । गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्तिले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुपातिकतर्फ ५ सिट पाएको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद छन् । लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६ औं स्थानमा रहेका नागरिक उन्मुक्ति र जनमत एक भए चौथो स्थानमा पुग्नेछ ।
एकीकरणको प्रक्रिया अघि बढेपछि मधेश प्रदेशमा जनमतका नेता–कार्यकर्तामा उत्साह देखिएको छ । एकीकरणले मधेशी र थारूबीच ल्याइएको फाटो हट्ने र तराई–मधेश पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म जोड्न बल पुग्ने उनीहरूको दाबी छ । जनमतका नेता बीपी साहले एकीकरणले पार्टीलाई थप बलियो बनाउने बताए । ‘मधेश आन्दोलनको मुख्य एजेन्डामा दुवै दल सहमत छन्,’ उनले भने, ‘मधेशी र थारूबीच फाटो ल्याउने काम पनि भयो । यो एकीकरणले तराई–मधेशका सबै भूगोललाई जोड्ने काम पनि गर्छ ।’ एकताले पहिचान र संघीयता सबलीकरणको मुद्दालाई बल पुग्ने पनि उनले दाबी गरे ।
सप्तरीका जनमत नेता सुरेन्द्र मधेशीले पार्टी एकीकरणलाई सकारात्मक लिइएको बताए । ‘दुवै दलबीच एकीकरण भएपछि तराई–मधेशमा ठूलो शक्ति बनेर आउनेछ,’ मधेशीले भने, ‘पूर्वी र पश्चिम मधेशमा नयाँ लहर ल्याउनेछ ।’ धनुषाका जनमत कार्यकर्ता मनोज यादव मरबैताले आन्दोलनकै जगमा उभिएको पार्टी जनमत र नागरिक उन्मुक्तिको एकीकरणको खबरले खुसी बनाएको बताए । ‘एकीकरणले पूर्वी मधेशमा मात्र होइन, पश्चिम नेपालमा पनि हामीलाई मजबुत बनाउनेछ,’ उनले भने ।
नागरिक उन्मुक्तिको प्रभाव भएको सुदूरपश्चिममा भने नागरिक उन्मुक्तिका कार्यकर्ता अन्योलमा छन् । प्रदेशसभा सदस्यसमेत रहेका नागरिक उन्मुक्ति कैलालीका संस्थापक अध्यक्ष कैलाश चौधरीले एकताबारे समाचारबाट मात्रै थाहा पाएको बताए । ‘मैले पनि समाचार हेरेरै थाहा पाइरहेको छु,’ सांसद चौधरीले भने, ‘आइतबार टीकापुरमा निर्वाचन क्षेत्रका कार्यकर्ताबीच अनौपचारिक बसाइँ भएको थियो । सबैको अन्योल एकनासकै छ । कोही पनि प्रस्ट छैन ।’
उक्त पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष पतिराम चौधरीले सबै कुरा माथिल्लो तहमै भइरहेकाले केही बताउन नसक्ने अवस्थामा रहेको सुनाए । ‘जिल्ला तहका कार्यकर्ताले सोधिरहेका छन्, तर जवाफ दिने अवस्था छैन,’ उनले भने । नागरिक उन्मुक्तिका कैलाली जिल्ला अध्यक्ष प्रदीप चौधरीले पार्टीको तल्लो संरचनामा कुनै छलफल नभएकाले अन्योल बढेको बताए । अन्य पार्टी जस्तो एकतापछि छिन्नभिन्न हुने परिस्थिति नभइदिए हुन्थ्यो भन्ने कार्यकर्ताको चाहना रहेको उनले सुनाए ।
कमल पन्थी, अजित तिवारी, अर्जुन शाह/कान्तिपुरबाट साभार
Facebook Comment