थारु भाषामा पठनपाठनको मागसहित थारु साहित्यिक मेलाबाट आठ बुँदे घोषणापत्र जारी
थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेलाको दोस्रो संस्करण सम्पन्न भएको छ। समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्थाबारे अन्तर संवाद गरियो।
महिला लेखनको विषयमा लेखिका बालिका चौधरी र गजलकार रबिना चौधरीसँग इन्दु थारुले अन्तरसंवाद गरिन्। त्यस्तै थारु पत्रकारिताबारे पत्रकार कृष्णराज सर्वहारी, गणेश चौधरी, प्रेम दहित र लखन दहितसँग छबिलाल कोपिलाले अन्तरसंवाद गरे।
छलफलमा अन्य साहित्यमाझैं थारु साहित्यमा पनि महिलाहरुलाई होच्याएर पुरुष स्रष्टाहरुले सिर्जना गरेकामा महिला लेखिकाहरुले प्रतिवाद गरेका थिए। त्यस्तै समाचार डेस्कमा थारुहरुको प्रतिनिधित्व नभएकाले तिनका बारे कमै समाचारले स्थान पाएको चर्चा गरियो।
साहित्य चिन्तन र थरुहट आन्दोलनका विषयमा कृष्ण कुमार चौधरी ‘कुन्दन’, अधिकारकर्मी दिलबहादुर चौधरी, युएन प्रतिनिधि फूलमान चौधरी, र अधिवक्ता सन्तराम धरकटुवा थारुसँग सुशिल चौधरीले अन्तरसंवाद गरे। दश वर्षे जनयुद्धमा सबैभन्दा धेरै थारु समुदायका व्यक्ति मारिए पनि त्यससम्बन्धी दस्तावेजीकरणको अभाव रहेको अन्तर संवादको निष्कर्ष थियो।
त्यस्तै थारु साहित्यको बाटो कता भनेर ठाकुर अकेलाले प्रस्तुत गरेको कार्यपत्रमाथि सुशिल चौधरीले टिप्पणी गरेका थिए। अघिल्लो दिन साहित्यकार रामलाल जोशी, नविन विभास, सन्तराम धरकटुवा थारुसँग कृष्णराज सर्वहारीले थारु साहित्यको आख्यान र गजलबारे अन्तर संवाद गरेका थिए।
मातृभाषामा थारु भाषाको पठनपाठनको अवस्थाबारे नेवाबस्ती नेवा अभियानका संयोजक दिपक तुलाधर तथा शिक्षक स्वर्णमान चौधरीसँग सुशिल चौधरीले अन्तर संवाद गरे। त्यस्तै भाषाविद पदम राईले थारु भाषाको मानकता बारे प्रशिक्षण दिएका थिए। त्यसैगरी विभिन्न विधाका ६ वटा पुस्तक विमोचन पनि गरिएको थियो।
थारु साहित्यिक मेला तेस्रो शृंखला बर्दियाको राजापुरमा गर्ने निर्णय भएको थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीले जानकारी दिए।
थारु साहित्यिक मेला-२, कैलाली घोषणा-पत्र
थारु लेखक संघ, नेपालको आयोजनामा २०७३ चैत १९ र २० गते धनगढी उ.न.पा.–७, पटेला, कैलालीमा भएको थारु साहित्यिक मेला–२ को सम्पूर्ण सहभागीहरुको साझा प्रतिबद्धता यो किसिमको छ।
१. थारु भाषामा मानकताको लागि हालको आगन्तुक शब्द जस्ताको त्यस्तै प्रयोग गर्ने। अन्य मौलिक शब्द जसरी बोलिन्छ त्यसरी लेख्ने।
२. थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिने।
३. थारु साहित्यकारको क्षमताको विकासको लागि काम गर्ने।
४. थारु साहित्यको अध्ययन अनुसन्धान प्रकाशनको लागि राज्यको निकायलाई दबाब दिने।
५. थरुहट क्षेत्रको सार्वजनिक सूचना, वडापत्र थारु भाषामै लेखाउन दबाब दिने।
६. नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सरकारी निकायमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि दबाब दिने।
७. थारु साहित्यिक मेला तेस्रो शृंखला (२०७४), जंग्रार साहित्यिक बखेरीको सहकार्यमा बर्दियामा गर्ने।
८. थारु साहित्यिक मेला–२ आयोजनामा सहयोग पुर्याउने पटेला गाउँबासी लगायत सबै सहयोगी शुभेच्छुकहरुलाई हार्दिक आभार व्यक्त गरियो।
Facebook Comment