जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाति हुन्थ्यो ।
अनि संसारसामु सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।

धेरैवर्ष पछि बन्यो संविधान–२
संविधानको हरफहरुमा
हाम्रो पनि अधिकार मिसिन पाए
क्या जाति हुन्थ्यो ।
अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा
चार वर्ण छत्तिस जातको
क्या ताँती हुन्थ्यो ।
सारा संसार हाम्रो खुसीदेखि दंग पर्थे
अरे वाह ! संसार सामु हाम्रो शिर
क्या माथि हुन्थ्यो ।

के नै मागेका थियौं र हामीले
अरुलाई जस्तै हामीलाई पनि
थोरै दिए पुग्थ्यो
अलि कति तिमी झुक्थ्यौ
अलिकति हामी झुक्थ्यौँ
दुबै झुके झुक्ने माथिको आकास
कत्ति माथि हुन्थ्यो ।
संविधान बनेको खुसीमा हामी पनि मुस्कुराउन पाए
वाह ! क्या जाति हुन्थ्यो ।

अनि
न त नारा जुलुस हुन्थ्यो
न त कुटाकुट हुन्थ्यो
न कालो दिवस मनाउथ्यौँ
न त झ्यापझुप बत्ति निभाउथ्यौँ
सबै उज्यालोमा सजिन पाए
एकै अङगोलामा बाँधिन पाए
वाह ! हाम्रो शिर कति माथि हुन्थ्यो ।

अहिले त तिमी एक्लै खुशियाली मनाउँदैछौं
तिमी एक्लै हाँसे,
एक्लै नाचे
तिम्रो नाच हेर्ने रमिते नै नभए
तिमी खल्लो कि आँगन खल्लो ?
खल्लो आँगनमा वल्लो पल्लो मिसिन पाए
वाह ! क्या जाति हुन्थ्यो

तर तिम्रो अहमताले साझा खुसीमा हामी
ताली पड्काउन पनि पाएनौं
कम्मर मर्काउन पाएनौं
दीपावली गर्न पनि पाएनौं
तिमीले जस्तो सोँचे पनि हामीलाई अझै आशा छ
तिमीसँगै नाँच्न पाए
बारुले कम्मर भाँच्न पाए
अझै क्या जाति हुन्थ्यो ।
हाम्रो खुसीमा आरिस गर्नेहरु अझै जल्थे
अनि सम्झ त
हाम्रो शिर कत्ति माथि हुन्थ्यो ?

हामीलाई कति दुःख लागेको छ
तिम्रो भोजमा हामी सामेल हुन सकेनौं
तिमी पल्लो घरमा बसेर भतेर गर्दैछौं
हामी वल्लो घरे छिमेकीहरु
भतेरको वासना सुघ्दैछौं
तिम्रो त एक्लै खाने ऐतिहासिक बानी छ क्यारे
खाऊ
अघाउनजेल खाऊ
तर थाहा पाइराख
धेरै खाए विरामी होउलाऊ
डाक्टर सापको अस्पताल अन्यौलमा छ
अन्ततः
थारु गुरुवाले तिम्रो आछत हेर्नैपर्छ
दवाई पानी गर्नैपर्छ
तिम्लाई सञ्चो पार्नैपर्छ
अनि बाध्य भएर लज्जित भई तिमीले
हामी थारु गुरुवालाई अंगालो मार्नैपर्छ
त्यसैले
संविधान जारी गर्‍यौं हाम्रो बधाई छ
यत्रो ऐतिहासिक संविधानलाई
हामी पनि जलाउन्नौं
बरु पढ्छौं
हाम्रो पनि कँहीकतै
अधिकार उल्लेख छ कि

त्यसैले,
आफू आफू मिलेको मिलन पो कति जात्ति हुन्थ्यो
अरे वाह ! सबैको सहमतिमा जारी गरेको संविधान
संसारमा क्या माथि हुन्थ्यो !!

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए
क्या जाति हुन्थ्यो ।
अनि संसार सामु हामी सबै नेपालीको शिर
क्या माथि हुन्थ्यो ।

(डिल्लीबजार जेलबाट रेशम चौधरीको कविता)




Leave a Reply

Your email address will not be published. Required fields are marked *