डिल्ली चौधरी बने ग्रामीण तथा शहरी विकास मन्त्री, एनजीओबाट यसरी उदाए राजनीतिमा
लुम्बिनी प्रदेशसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मन्त्री बनेका छन्। उनी ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेका उनी गत प्रदेशसभा चुनावमा दाङको क्षेत्र ३ क बाट निर्वाचित भएका थिए।
को हुन् डिल्ली चौधरी?
राप्ती यसपालीको चुनावमा पुरै लालकिल्ला भयो । त्यहाँ कांग्रेसको बीउ जोगाए एक्ला डिल्लीबहादुर चौधरीले, जो दाङ क्षेत्र नं. ३ क मा प्रदेशसभातर्फ निर्वाचित भएका छन् । उनले १७ हजार ३६ मत ल्याएर निकट्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगप्रसाद शर्मालाई हराए । वर्तमान देउवा सरकारमा श्रम तथा रोजगार राज्यमंत्री रहेका उनी दोस्रो संविधानसभाका सदस्य पनि हुन् । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका आकांक्षी भएर उनी चुनाव लडेका थिए ।
२०२६ सालमा तुलसीपुरको डुम्रीगाउँमा आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको कोखबाट जन्मिएका हुन् डिल्ली । उनले भलै कमैया बस्नु परेन, तर उनकी आमा सोमती करिब १७ वर्ष अर्काको घरमा कमलरी बसिन् । परिवारलाई पुग्ने जग्गा थिएन, अधिया जग्गा कमाउनुपर्ने परिवारको बाध्यता थियो । ५ कक्षा पढ्दै गर्दा उनलाई अधियामा खेत जोत्न जानुपथ्र्यो । सिजनको कमाई गर्न परिवारका सदस्यसँग वावियो काट्न डुम्रीगाउँबाट राति तीन बजे तिल्कानाको जंगलमा पनि पुगे उनी । हलो खोज्न कट्कुइयाँको जंगलमा पुगे । पन्ध्र वर्षको उमेरमा बुबा गुमाएका उनी धेरै रात परालको तन्ना ओढेर बिताएका छन् ।
समय परिवर्तनसँगै चौधरी छयालिसको आन्दोलनपछि व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) मार्फत् सामाजिक अभियानमा जोडिए । हाफ सर्ट, हाफ पाइन्ट अनि खुट्टामा सधैं चप्पल उनको पहिचान थियो त्यसबेला । उनी मंत्री भए पनि अहिले पनि बेसको अध्यक्ष छन् । एसएलसी पास नगर्दै उनी सामाजिक रुपान्तरणका लागि शैक्षिक अभियानमा जोडिए । जुन बेला उनी १४ वर्षका मात्रै थिए । शिक्षाको चेतना नहुँदा समाजमा धेरै विकृति हुँदा रहेछन् भन्ने उनलाई लाग्यो । त्यसपछि उनी प्रौढ शिक्षाको अभियानमा जुटे । कतै दियालो, कतै लाल्टिन बालेर पिछडिएका वस्तीहरुमा शिक्षाको दियो बल्न थाल्यो, त्यसपछि थारु समुदायमा शिक्षाको चेतनाको विकास हुन थाल्यो । प्रौढ शिक्षा अभियान सञ्चालन गर्दागर्दै उनकै पहलमा २०४७ साल माघ १६ गते ‘बेस’ संस्था खुलेको थियो । राज्यको सहयोग थिएन, त्यो बेला । अन्तर्राष्ट्रिय सहयोग त कल्पनै थिएन । चन्दा उठाएर उनले बेस चलाए । हरेक वस्तीमा टुकीको उज्यालोमा प्रौढ शिक्षा पढाए ।
त्यहीबेला संयोगले उनी थाइल्याण्ड पुगे, आदिवासीका अधिकारका लागि । त्यहाँ उनले आदिवासी अधिकारका केही पाटा सिक्ने अवसर पाए । त्यसपछि भारत पुग्दा सन् १९८८ मा ‘बाल बचाऔं’ आन्दोलनका अभियन्ता कैलाश सत्यार्थीको सम्पर्कमा आए, उनी । उनकै शब्दमा नोवेल पुरस्कार विजेता सत्यार्थी उनीभन्दा धेरै सिनियर, उनीसंग धेरै सिक्ने मौका पाए ।
बेस संस्थामार्फत् शिक्षा र स्वास्थ्य क्षेत्रमा पिछडा वर्गमा धेरै परिवर्तन आयो, उनी त्यो बेला समाज परिवर्तनका ‘हिरो’ बने । माओवादी जनयुद्धका बेला थियो, स्वास्थ्य कार्यक्रम चलाइरहँदा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भयो । त्यसपछि उनको कार्यक्रम राम्रोसँग चल्न सकेन । तैपनि उनको संस्था कहिल्यै झुकेन । उनलाई समाज परिवर्तन गर्नु थियो । पहिलो आधार शिक्षा, दोस्रो स्वास्थ्यमा पहुँच । आन्दोलनकै क्रममा स्वास्थ्यकर्मी चढेका गाडीमा समेत अवरोध भयो, बेस कैलालीको कार्यालयमा आगजनी भयो तर उनी संस्थागत अभियानमा कहिल्यै झुकेनन् ।
त्यसै क्रममा उनी गैरसरकारी संस्था महासंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्षसम्म बने । सामाजिक कामको सिलसिलामा उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पर्कमा जोडिए । ‘सायद सन् १९९२ सालमा होला,’ उनले सम्झिए । गजेन्द्र हमालमार्फत कांगे्रसको क्रियाशील सदस्यता लिए । गणेशमान सिंहको चुनावी सभामा उनले सक्रिय भूमिकासमेत निर्वाह गरे । त्यो बेला उनलाई मंगलादेवी सिंहसँग पनि नजिकिने अवसर मिल्यो । त्यसपछि सामाजिक रुपान्तरण अभियानसँगै उनी कांग्रेसको क्रियासिल राजनीतिमा होमिए ।
बेसमै छँदा उनलाई संयुक्त राष्ट्रसंघमा जागिरे बन्न धेरै प्रस्ताव आएको थियो, तर उनले मानेनन् । दुर्गममा शिक्षा दिने र सक्रिय राजनीति गर्ने उनले सोच बनाए । त्यसदौरान उनी एकपटक संसदीय निर्वाचन लडे, तर थोरै मतले हारे । संविधानसभाको दोश्रो निर्वाचनमा उनले प्रत्यक्षतर्फको टिकट नपाए पनि समानुपातिक सभासद बने ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका चौधरीले विभिन्न मुलुकहरुमा विकासवारे सीपमूलक तालिमसमेत लिएका छन् । त्यही सीपको सदुपयोग गर्दै उनले ‘गो अहेड, नो व्याक’ अभियानमा लागेका छन् । र, निरन्तर अगाडि बढिरहेका छन् । अगाडि उज्यालो छ, पछाडि अँध्यारो । यही राजनीतिक अभियानमा छन् उनी ।
अशोका फेलोसिपदेखि एन्टी सेलेभरी पुरस्कारसम्म
बेस स्थापनासँगै उनी कमैया मुक्तिको अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनकै अभियानका कारण सरकारले कमैया मुक्त घोषणा गरेको थियो २ साउन २०५७ मा । यही कारण उनी अन्तर्राष्ट्रिय जगतमा पनि छाए । उनले सन् १९९४ मा मानव अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय रिभोक ह्युमनराइट पुरस्कार पाए । सन् २००२ मा एन्टी सेलेभरी पुरस्कार पाए भने भारतबाट रामदयाल हार्मोनी पुरस्कार पाए ।
त्यस्तै अमेरिकाबाट सन् १९९२ सालमा अशोका फेलोसिप पनि पाए । सन् १९९४ सालमा कोलम्बिया विश्वविद्यालयलेसमेत उनलाई सम्मान गरेको थियो । उनी गोरखा दक्षिणबाहुबाट पनि सम्मानित भएका छन् ।
उनको पहिलो एजेण्डा नै तुल्सिपुरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनु हो । २३ पुस २०७४ बाट समित एयरले दाङबाट काठमाडौ उडान पनि गरिसक्यो । उनी भन्छन्, ‘हामी जे भन्छौं त्यही गर्छौं, झुठा आश्वासन बाँड्दैनौं, हामीले गरेको विकास हेर्नुस् ।’
प्रस्तुतिः खेमराज रिजाल
I am quite thrilled to learn that Dilli Bahadurji has become the minister for Rural and Urban Development. From his very childhood, he has fought for the rights of the Tharus, quite often risking his own life. It is also quite heartening that he has received so many prestigious international awards. He definitely deserves those.
My heartfelt congratulations to you Dilliji and all the Tharus.
Great man does the great work ???