दसैंमा किन फेरिन्छ थारूको देउता

थारू समुदायमा दसैंमा आफ्नो देउता अर्थात् घोर्वा फेर्ने चलन छ। अन्य समयमा नभई दसैंमा देउता फेर्ने भएकाले अहिले घोर्वा (माटाको घोडा) बनाउनेको व्यवसाय राम्रो चलेको छ।

अन्य समयमा खोजेर विरलै खरिद गर्न पाइने घोर्वाको दसैं लागेपछि सहज रुपमा खरिद गर्न पाइन्छ। माटाका भाडा बनाउने पेशाकर्मीले अहिले सबै खाले देउताको मुखाकृति बनाएर घोर्वाको बिक्री थालेका थारु समुदायका अगुवा बताउँछन्। जानकी गाउँपालिका-१ तोरैयापुरकी आममती चौधरीले विशेषतः दसैं पर्व नजिकिएसँगै थारु सुमदायका देउता अङ्कित घोर्वाको बिक्री सुरु भएको बताइन। ‘अन्य समयमा न्यून रुपमा माटाका देउता घोर्वाको बिक्री भए पनि दसैंमा यसको राम्रो बिक्री हुने गर्छ। दसैँ सुरु भएसँगै दैनिकरुपमा घोवा बिक्री भइरहेका छन् । यसबेला घर लिपपोत गरेर हरेक घरमा घोर्वा फेर्ने गरिन्छ,’ उनले भनिन्।

माटाको काम गर्ने जातिले घोर्वा बनाउने गर्छन्। प्रायः दसैंमा थारु समुदायमा घोर्वा फेर्ने प्रचलन रहेकाले अन्य समयभन्दा घोर्वाको बिक्री राम्रो हुने गरेको टीकापुरका सुन्दर चौधरीले बताए। ‘माटाका भाडा घोडा आकारमा विभिन्न देउताका चित्र अङ्कित घोर्वा लिइ देउता कोठामा सजाउने गरिन्छ। घोर्वा माटाका बनाइने भएकाले वर्ष दिनभरिमा केही टुटफुट भएको वा कुनै खोट देखिएमा दसैंमा मात्र फेर्ने चलन छ। नयाँ देउता बनाउने बेलामात्र फेर्ने गरिन्छ। यो पटकपटक वा बीच बीचमा फेर्ने चलन छैन,’ उनले भने।

मौसमीरुपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सय देखि रु एक हजारसम्ममा बिक्री हुन्छ। तोरैयापुरकी व्यवसायी सुमिता थारु भन्छिन्, ‘थरिथरिका देउताका चित्र बनाएका छौँ, यतिखेर राम्रो बिक्री भइरहेका छन्। थारु सुमदायका जातअनुसार घोर्वा देउता फरकफरक रुप वा स्वरुपबाट निर्मित गरिने गरिएका छन्। सोहीअनुसार मेल खाने घोर्वामात्र फेर्ने गरिन्छ,’ उनले भनिन्।

थारु समुदायका मुल पदवीअनुसार घोर्वालाई कुल पुरोहित देउताका रुपमा चिनिन्छ। पाँच इन्द्रीय भएको देउताकारुपमा रहेकाले घरका सदस्यको संरक्षण तथा दुःख बिरामीबाट छुटकारा दिलाउने देउताका रुपमा घोर्वालाई मान्ने र पुज्ने गरिन्छ। नयाँ देउता किन्न आउने ग्राहकको पुरानो देउताको स्वरुपसँग मेल खाने गरीमात्र बिक्री गर्ने गरेको उनले बताइन्। घोर्वा पनि जात विशेष आधारमा विभिन्न थरिका रहेका हुन्छन्।

दसैंमा विशेषरुपमा मैया देउताको पूजासँगै सौरा, खेखरी र जात विशेषका आधारमा विभिन्न देउताको पूजा गर्ने चलन छ। थारु समुदायका अगुवा समिर चौधरीले पर्व मनाउने, पूजाआजा गर्ने आआफ्नै तरिका रहेकाले थारु समुदायमा दसैँमा घोर्वा फेर्ने, खानपान र रमाइलो गर्ने चलन रहेको बताए। ‘दसैँमा थारु समुदायमा देउताका भाडा फेर्न, गाउँगाउँमा नाचगान गर्ने, समुदायमा रहेका नाचगान र पहिरन संरक्षण गर्ने गरिन्छ। सपरिवार, छिमेकी तथा आफन्त जम्मा भएर रमाइलो गरी नाचगान गर्दै दसैँ मनाउने तरिकाले थारु समुदायको पहचिान जोगाएको छ,’ उनले भने।

दसैँ सुरु भएपछि थारु गाउँमा सखिया, मुग्रौहा, झुम्रालगायत नाचगान गर्ने गरिन्छ। ‘आफैंले मादल बजाएर, पुरुषले धोती तथा भेगुवा लगाउने, महिला एउटै खालको लेहेँगा र चोलीमा सजिएर नाचगान गर्ने चलनले रमाइलो हुन्छ। थारु समुदायमा चाडपर्व मनाउँदा विशेष तवरले मनाइन्छ। दसैँको समयमा थारु समुदायका गाउँगाउँमा रात्रिकालीन नाटक प्रदर्शन, नाचगान जस्ता कार्य हुन्छन्। यसले संस्कृति संरक्षण र कला र संस्कृति युवा पुस्तालाई हस्तान्तरणमा सघाउँछ,’ उनले थपे।




One thought on “दसैंमा किन फेरिन्छ थारूको देउता

  1. I m willing to know the background history and importance of kohra squash (Benincasa hipsida) which is made bherwa in dashain. Thank you

Leave a Reply

Your email address will not be published. Required fields are marked *