सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै
बाँकेको कोहलपुर नगरपालिका-४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पुर्याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराए।
सो रोगबाट जोगिने उपाय बिहेबारी पूर्व रगत जाँच गरी सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नुपर्ने डा पाण्डेको भनाइ छ। उनले यदि रोगी र बहाक फेला परे रोगी-रोगी र बहाक-बहाकका बीचमा हुने बिहेबारी रोके भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने उल्लेख गरे।
उनले रोगी र बहाकबीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिए। बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। उनले थारु समुदायमा सिकलसेल र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए । अन्य समुदायमा पनि उक्त रोग देखिए पनि थारु समुदायमा बढी रहेको उनको भनाइ छ ।
सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभु चौधरीले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेकोमा जोड दिँदै थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारेसमेत जानकारी गराए ।
कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले सिकलसेल र थालेसेमियाका बिरामीको नगरपालिकाले स्वास्थ्य बीमा गराउने बताए । आगामी आर्थिक वर्ष २०८०-८१ देखि बिरामीको पालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसको बीमाबापतको रकम पालिकाले तिर्ने उनी बताउँछन्।
Facebook Comment