एनपीएलमा विराटनगर र कर्णाली विजयी, लुम्बिनी बाहिरिँदा चितवनलाई धक्का
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा कर्णाली याक्स र विराटनगर किंग्स विजयी भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले लुम्बिनी लायन्स र विराटनगरले चितवन राइनोजलाई पराजित गरेको हो।
शुक्रबार भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गर्यो। १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र जोड्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको सामान्य योगफल तयार गरेको थियो।
त्यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ। विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो। त्यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो।
प्रतियोगिताअन्तर्गत शनिबार पोखरा र काठमाडौं तथा चितवन र जनकपुरबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ।
Facebook Comment