रेशमलाई १४ किलोको नेल, रविलाई आलीशान सुविधा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानलाई हिरासतमा दिइएको सुविधाप्रति धेरैले प्रश्न गरेका छन्। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएपछि उनलाई दिइएको सुविधाप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले प्रश्न गरेकी छन्।

कुनै बेला प्रतिनिधिसभा सदस्यको हैसियतमा जेलजीवन विताइरहेका रेशम चौधरीलाई नेल लगाएर उपचार गरिएको थियो। सोही तस्बिरसहित अध्यक्ष श्रेष्ठले लामिछानेलाई दिइएको सुविधामाथि प्रश्न उठाएकी हुन्। ‘उहाँ यसरी बस्नु हुन्थयो। अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा। पूर्व गृहमन्त्री माननीय रविज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाहिँ विभेद भएकै होजस्तो महसुस भयो,’ उनले भनेकी छन्। उनले नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम पनि त्यसबेला जननिर्वाचित सांसद रहेको उल्लेख गरेकी छन्।

रेशम चौधरी स्वयंले पनि त्यो समय सम्झिँदा जीउ सिरिङ्ग हुने गरेको बताए। ‘मेरा ती दिन। साढे आठ वर्षको प्रवास र कारावास। सम्झिँदा कहाली मात्रै होइन, जीउ सिरिङ्ग भएर आउँछ,’ उनी विगत सम्झिन्छन्। अदालतले आदेश गर्दासमेत लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति उनको दुखेसो छ।

राजनीतिक अभियन्ता सुरेन्द्र चौधरीले पनि त्यसबेला रेशम चौधरीमाथि राज्यले विभेद् गरेको बताए। जननिर्वाचित सांसदमाथि गरिएको विभेद् नदेख्नेहरूलाई उनले मानसिक बिमारी कि त नश्लवादी भएको उल्लेख गरेका छन्।
‘यी तस्बिरमा देखिएका दुइटै ब्यक्ति मेरो नजरमा गिरेका हुन्। तर, जब विभेदको कुरा आउँछ त्यहाँ सत्य बोल्नै पर्ने हुन्छ। रेशमलाई नेल लगाउँदा तिमीहरूले देख्ने विभेद् कहाँ थियो?,’ उनले प्रश्न गरेका छन्।

त्यतिमात्र होइन, सामाजिक सञ्जालमा रेशम र रविको तस्बिर भाइरल बनिरहेको छ। राज्यले रेशम चौधरीलाई नेलले बाँधेर अहिले रविलाई आलीशान सुविधा दिइएको उनीहरूले प्रश्न गरिरहेका छन्।

टीकापुर घटनामा डिल्ली बजार करागारमा रहेका बेला बिरामी परेपछि विसं २०७६ असार ६ गते रेशम चौधरीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। त्यसबेला बिरामीले थलिएपछि कारागारमै वैशाखी टेकेर उनी हिँड्थे। त्यस्तो अवस्थामा प्रहरीले खुट्टामा नेल बाँधेर उनको उपचार गरेको थयो। थारुवान डटकमले उक्त तस्बिरसहितको समाचार प्रकाशन गरेपछि राजनीतिमा तरंग पैदा गरेको थियो। सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न नेतादेखि प्रधानमन्त्रीसमेतले यसबारे चासो देखाएका थिए।

त्यतिबेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई स्वयं अस्पतालमा उपस्थित भएका थिए। खिया लागेको फलामको १४ किलोको नेल बाँधेकोप्रति उनले कडा आलोचना गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत मानवअधिकार हनन् भएकोप्रति प्रश्न उठाएका थिए।

‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो?,’ उनले प्रश्न गरेका थिए, ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण!’

त्यतिबेलाका प्रधानमन्त्री पनि केपी शर्मा ओली नै थिए। रेशमको खुट्टामा नेल बाँधिएको समाचारले राजनीतिमा तरंग ल्याएपछि प्रधानमन्त्री ओलीले तत्काल नेल खोल्न प्रहरीलाई निर्देशन दिएका थिए। उनले नेल ठोक्ने प्रहरीलाई कारबाही गर्न आदेश पनि दिएका थिए।

फेसबुकमा रेशमो फोटो भाइरल भइसक्दा पनि चुपचाप बसेका मानवअधिकार आयोगका पदाधिकारीहरु भने प्रधानमन्त्री निर्देशनपछि वीर अस्पताल पुगेका थिए। आयोगको एक टोलीले सांसद रेशम चौधरीसँग नेल बाँधेको हो वा होइन भनी बयान लिएका थिए। मानव अधिकारकर्मीहरूले खटिएका सुरक्षाकर्मी, डाक्टर र नर्ससँग पनि बयान लिएका थिए।

dav

ड्युटीमा खटिएक एक नर्सले उनीहरूसमक्षा बयान दिँदै भनेकी थिइन्, ‘कसम खाएर भन्छु, झुटो बोल्नु हुँदैन। उहाँको (रेशम चौधरीको) खुट्टामा नेल बाँधिएकै हो। नेल बाँधिएकै अवस्थामा हामीले उपचार गरेका हौं।,’

त्यसपछि आयोगको टोलीले केही तस्बिर लिएर फर्किएको थियो। आयोगको टोली फर्किएपछि सांसद रेशम चौधरीले थारुवान प्रतिनिधिलाई प्रश्न गरेका थिए- मैले प्रहरीका साथीहरूलाई यसो नगर्नुस्, कानुनको सम्मान गर्नुस् भनेको थिएँ। तर, उनीहरूले ‘ह्या ! ठोकिदिऊँ, यो को हो र? जाबो कैदी त हो’ भनेर नेल लगाए। अब त प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभयो रे। मानवअधिकार आयोगको टोलीले पनि बयान लिएर जानुभयो। के जनताको प्रतिनिधिलाई नेल ठोक्नेलाई कारबाही होला?

रेशम चौधरीले त्यसबेला बन्दुकधारी सुरक्षाकर्मी क्याबिनभित्रै बस्दा आफू त्रसित हुने गरेको बताएका थिए। उनले थारूवानसँग भनेका थिए, ‘कानुनअनुसार बन्दुक लिएर खटिएका सुरक्षाकर्मी बाहिर बस्नुपर्ने हो। तर क्याबिनभित्रै बसिरहनुभएको छ। यसले मानसिक आघात पुगेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *