भोलिदेखि दसौं संस्करणको खिचरा महाेत्सव, मुख्यमन्त्री लामाले उद्घाटन गर्ने
कारी महताे/चितवन।
खिचरा पर्वकाे अवसर पारेर आयाेजना हुने खिचरा महाेत्सवकाे दसौं संस्करण यसवर्ष पुस २९ गतेदेखि माघ ७ गतेसम्म हुने भएकाे छ। महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराएको हो।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुुर सिंह लामाले महाेत्सवकाे उद्घाटन गर्ने महोत्सव मूल आयाेजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चौधरीले जानकारी दिए। थारु कला संस्कृति र थारू खानाका परिकारकाे प्रवर्द्धन गर्नका लागि आयोजना गरिदै आएको खिचरा महोत्सवमा यसवर्ष १५० वटा व्यावसायिक स्टलहरू रहने जनाइएकाे छ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने यस संस्करणलाई सभ्य, भव्य र सफलतापूवर्क सम्पन्न गर्नका लागि २० वटा विभिन्न विषयगत समितिहरु गठन गरिएको छ।
यसखालकाे महाेत्सवमध्ये जिल्लाकै पहिलो साँस्कृतिक एवं व्यापारिक महोत्सवको रूपमा आयोजना गरिएको महोत्सवको समयपरिस्थपतप अनुकूल प्रवेश शुल्क १०० रुपैयाँ र परिचयपत्रकाे आधारमा विद्यार्थीका लागि ५० रुपैयाँ कायम गरिएकाे साथै पार्किङका लागि कुनै शुल्क नलाग्ने महाेत्सवका संस्थापक संयाेजक तथा थारू कल्याणकारिणी सभाक्षेत्र नं. ७ का पूर्व अध्यक्ष नारायण प्रसाद महतोले बताए।
आठ दिनसम्म चल्ने महोत्सवमा चितवन लगायत स्थानीय तथा देशभरका साँस्कृतिक नाचगान हुने तथा यसखालका लाेपाेन्मुख कलासंस्कृतिप्रति युवावर्गलाई आकर्षित गर्नका लागि राष्ट्रियस्तरकाे ख्यातिप्राप्त विभिन्न ब्याण्डहरू एवं राष्ट्रिय कलाकारहरूलाई समेत आमन्त्रण गरिएकाे साँस्कृतिक कार्यक्रम संयाेजक जयश चाैधरीले बताए।
पत्रकार सम्मेलनका प्रमुुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुुदेव चौधरीले थारु समुुदायको अस्तित्व जोगाउन महोत्सवलाई निरन्तरता दिने गरिएको बताए। खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा चितवन महाेत्सवकाे संरक्षककाे रूपमा रहेका छन्। पत्रकार सम्मेलनमा खैरहनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदीले मन्तव्य व्यक्त गर्दै महाेत्सव सफलताकाे शुभकामना व्यक्त गरे। आयोजक संस्थाका सचिव सुनिल चौधरीले सञ्चालन गरेको कार्यक्रममा थाकसका केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
Facebook Comment