बढ्दैछ थारू मौलिक पहिरनको क्रेज
कारी महतो/चितवन
खिचरा महोत्सवको दशौं संस्करण पुस २९ गतेदेखि सुरु भएको छ। राप्ती नगरपालिका वडा नं. २ का सोनी अर्जेल थारु जातिका मौलिक भेषभुषा र गरगहनामा चिटिक्क परेर खिचरा महोत्सव घुम्न आएकी देखिइन्। उनी थारु पहिरन र गरगहना भाडामा लिएकी बताइन्। निकै आकर्षक देखिने भएकोले एकदमै रहर लागेर लगाएर आएकी उनी बताउँछिन्।
म थारु समुदायको होइन, रहर लागेर भाडामा लिएर लगाएकी हुँ,’ उनले भनिन्, ‘नेपालका सबै जातजातिको पहिरन नेपाली पहिरन हो। हामी सम्पूर्ण नेपालीहरुले एकअर्काको संस्कृति, भेषभुषा, रितिरिवाज र खानपानको सम्मान गर्नुपर्छ। त्यसो गर्नसके मात्र आपसी मेलमिलाप र सहअस्तित्वको विकास हुन्छ।’
महोत्सव अवलोकन गर्न सोहि नगरपालिका वडा नं. ६ बाट अञ्जु चौधरी पनि थारु भेषभुषा र गरगहनामा सजिएर आएकी थिइन्। उनीसँग सोहि ठाउँका साथीहरु सीता चौधरी, निर्मला चौधरी र कञ्चन चौधरी पनि आएका थिए। हरेक वर्ष क्याजुअल पहिरनमा आउने गरेकोमा विगत पाँच∕छ वर्षदेखि उनीहरु मौलिक भेषभुषा र गरगहना लगाएर आउने गरेको बताउँछन्। त्यसअघि आफूसँग थारु भेषभुषा र गरगहना नभएर क्याजुअल पहिरनमै आउने गरेको अञ्जु बताउँछिन्। खिचरा महोत्सवले गर्दा लोप भैसकेको साँस्कृतिक भेषभुषा र गरगहना संकलन गरेर राखेको र अहिले विशेष अवसरमा थारु पहिरन लगाउने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पहिला थिएन् अहिले आफैंले किनेर राखेकी छु।’
उनीहरु थारु पहिरन लगाउने प्रतिनिधि पात्रहरु हुन्। महोत्सवको शोभा यात्रामा हजारौं महिला पुरुषहरुको उपस्थिति थियो। त्यतिमात्र होइन, केही आमाबुबाले आफ्ना साना छोराछोरीहरुलाई समेत मौलिक पहिरन लगाएर ल्याएका थिए। उनीहरुका अनुसार मौलिक पहिरन लगाउँदा छोराछोरी पनि खुशी हुने साथै लोपोन्मुख कलासँस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा मात्र यसको जगेर्ना हुन्छ। त्यसैले आफ्नो छोराछोरीहरुलाई मौलिक भेषभुषाप्रति जागरुक बनाउनुपर्छ।
भोजिया चौधरीले महोत्सवमा थारु समुदायले खिचरा पर्वमा खाने गरेको चिचर र चिचरको प्वाका बेच्दै आएकी छन्। उनी खैरहनी नगरपालिका वडा नं. ५ को एक महिला समूहकी अध्यक्ष हुन्। उनीहरुले सामूहिक रुपमा थारु खानाका परिकार बेच्ने स्टल लिई व्यापार गर्दै आएकी बताइन्। आठ दिनमा उनीहरुले पाँच लाख भन्दा बढीको कारोबार गर्ने गरेको र खर्च कटाई करीब दुईलाख पचास हजार मुनाफा लिने गरेको बताइन्। महोत्सवको नाफा उनीहरुले समूहमा बचत गर्ने गरेको बताइन्। विभिन्न महिला समूह र व्यक्ति विशेषले महोत्सव परिसरमा आधा दर्जनभन्दा बढी स्टल राखी थारु खानाका परिकारको व्यापार गरेका छन्।
आजभन्दा बीस वर्ष अगाडि थारु समुदायले आफ्ना मौलिक पहिरन र गरगहनाप्रति चासो दिन छाडिसकेका थिए। अहिले विभिन्न अवसरहरुमा थारु पहिरन देख्न पाइन्छ। केही वर्ष अगाडि खैरहनी नगरपालिकाले हरेक थारु गाउँका महिला समूहहरुलाई थारु पहिरन खरिद गर्न अनुदान समेत दिएको थियो।
अहिले चितवनको खैरहनीमा खिचरा महोत्सव लगायत जिल्लाका विभिन्न स्थानहरुमा खिचरा विशेष कार्यक्रम हुने गरेको छ। ‘हाम्रो अमूल्य संस्कृति लोप हुने खतरामा थियो। त्यसलाई जगेर्ना गर्नका लागि हामीले खिचरा महोत्सवको सुरुवात गरेका हौं,’ खिचरा महोत्सवका संस्थापक संयोजक नारायण प्रसाद महतोले बताए। उनले भने, ‘जुन उद्देश्यले हामीले खिचरा महोत्सव सुरु गरेका थियौं। हामी सफल भएका छौं।’
चितवनमा आउने पर्यटकहरुलाई आकर्षण गर्नका लागि थारु कला, सँस्कृति महत्वपूर्ण योगदान रहेको छ किनकि पर्यटकहरु विभिन्न जंगली जनावरका साथै यहाँका मूलवासी थारु समुदायको संस्कार संस्कृतिसँग पनि रमाउन आउने गर्छन्। यो अनन्तकालसम्म संरक्षित हुनु जरुरी रहेको थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति तथा महोत्सव मूल समितिका संयोजक रामेश्वर चौधरीले बताए। महोत्सव यसवर्ष पुस २९ गतेदेखि माघ ७ गतेसम्म खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा आयोजना गरिएको छ।
Facebook Comment