यसकारण खारेज भयो अरुण चौधरीविरुद्धको रिट, सांसद पद जोगियो
नागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।
संक्षिप्त आदेश जारी गर्दै अदालतले सांसद पदको योग्यता नरहेको भन्ने नदेखिएको निष्कर्ष निकालेको छ।
‘प्रत्यर्थी प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली जिल्ला, निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको देखियो। निज अरुणकुमार चौधरीको नेपालको संविधानको धारा ८७ बमोजिम प्रतिनिधि सभा सदस्यका लागि योग्यता नपुगेको वा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्यता रहेको वा ऐ. ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नरहेको भन्ने नदेखिएको स्थितिमा उम्मेदवारी दर्ता गर्दा पेश गरेको मनोनयन पत्रमा जानी-जानी झुठो विवरण पेश गरेको भए सो बिषयको उजुरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृत समक्ष वा ऐ. ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानूनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ,’ आदेशमा भनिएको छ।
Facebook Comment